जीवनमा समस्याले कहिले छोड्छ र ! कहिले त चिताउँदै नचिताएको समस्याले पनि थाहै नपाइ बेरिसकेको हुन्छ । सानी छोरी पनि बिस्तारै ठुली भई । किन्डरगार्टेनबाट अब प्राइमरी स्कुलमा सार्नुपर्ने भयो । विदेशमा स्कुल खोज्नु त्यसै पनि सजिलो हुँदैन ।
राम्रो के भयो भने, सरोज चिनशानबाट शाङ्घाईमै रहेको ह्वाशान अस्पतालमा सर्नुपर्ने भयो । तीनजना तीनतिर छरिएर बसेको स्थितिमा परिवर्तन आउने भयो । बच्चाको निम्ति अलि राम्रो मानिएको एउटा स्कुल भेटियो तर, त्यो शाङ्हाई मेडिकल युनिभर्सिटीबाट अलि टाढा थियो ।
छोरीलाई स्कुल पु¥याउन र लिन जाने काम मेरै जिम्मामा रहने भयो । तर, मेरो युनिभर्सिटी अर्कै ठाउँमा अलि टाढै पर्थ्यो । अब हाम्रो जीवनमा छोरीको पढाइले प्रमुखता पाउन थालिसकेको थियो । समय अनुसारको शिक्षा दिनै पर्थ्यो । आफूलाई मानसिक रुपमा तयार पारेर मैलै त्यो आँट गरेँ ।
आफ्नो होस्टलेमा नबसी सरोजकै होस्टेलबाट दिनदिनै छोरीलाई स्कुल पु¥याएर मात्र आफू पनि पढ्न जान गर्न थालेँ । सर्जिकल रेजिडेन्सीसँगै अनुसन्धान कार्यमा पनि लागिरहेका सरोजले त्यो भ्याउने कुरा थिएन ।
स्कुल त खोजियो, तर स्कुलका प्रशासकहरू विदेशी बच्चालाई पढाउन ‘डलर’ चाहिन्छ भन्न थाले । यो झन् कहिल्यै नसोचेको नयाँ समस्या थियो । अब परेन फसाद ! कहाँबाट डलर ल्याउने ?
सहयोग गर्न सक्ने घर परिवार थिएन । अरू देशमा झैँ पढ्दै काम गर्न सक्ने अवस्था पनि थिएन त्यो बेलाको चीनमा । मलाई ज्यादै चिन्ता लाग्न थाल्यो– छोरीलाई पढाउनै नसकिने पो हो कि भनेर ।
त्यो बेला मेरी रुममेट थिइन् जापानी साथी निशिकावा । असाध्यै असल साथी । उनको जीवनशैलीलगायत हरेक कुरा मलाई मन पथ्र्यो । विवेकी थिइन् । मेरो धेरै वास्ता राख्थिन् ।
गएको गर्मीको छुट्टीमा उनी एक्लै नेपाल घुम्न गएकी थिइन् र त्यही बेला पोखरा पनि पुगेकी थिइन् । पोखरा देखेर उनी कति प्रभावित भइछन् भने आफू बस्ने ठाउँलाई पनि ‘स–सानो पोखराजस्तै’ बनाउने कल्पना गर्नसम्म भ्याइसकिछन् ।
उनी आफैले प्रत्यक्ष नेपाल देखेर आएपछि मसँगको सम्बन्ध अझै गाढा बन्यो । उनले मेरो समस्यालाई राम्रोसँग बुझेकी थिइन् । मेरो चिन्तालाई कसरी समाधान गर्ने भन्ने कुरापनि मनमनै सोचिसकिछन् । ‘चिन्ता नगर’ त भनिरहन्थिन् । तर, केही सोँचिरहेकी पनि छन् भन्ने कुरा भने पछिमात्र थाहा भयो ।
त्यो बेलासम्म म अलिअलि लेख्ने भएपनि चीन पुगेपछि भने लेखन बन्द जस्तै भएको थियो । कहिलेकाहीँ लेख्न खोज्दा पनि खिया परेर कलमै नसरेजस्तो लाग्थ्यो । तर पनि केही साथीहरूलाई थाहा थियो– म नेपालमा छँदा पत्रपत्रिकाका निम्ति लेख्ने गर्थेँ भन्ने कुरा ।
कहिलेकाहीँ कविता पनि लेख्थें, तर कविता भने छपाउँदिन थिएँ । सुरुमा क्रान्तिकारी गतिविधिमा पस्दा नै श्यामप्रसाद शर्माको साहित्यिक गतिविधिबाट प्रभावित भएर पसेकी थिएँ । ‘बहिनीलाई चिठी’ लगायत उनका विभिन्न निबन्धहरू पढेकी थिएँ ।
बिस्तारै बिस्तारै साहित्यप्रतिको मेरो रुचि कसरी बढ्दै गयो भने सरोजसँगको सम्बन्धमा समेत उनको एउटा कविता पुल बन्न पुग्यो । सरोजलाई चिन्नु अगाडि नै उनको कवितालाई चिनेकी थिएँ र यो मान्छे असल हुनुपर्छ भनेर खोजी गर्न थालेकी थिएँ ।
नेपाल छोड्ने बेला मेरो लेखनले भर्खर एउटा उचाइ लिन खोज्दै थियो । विभिन्न साहित्यिक गोष्ठीहरूमा भाग लिने मात्र नभएर गोष्ठी आयोजनामा समेत भाग लिन्थेँ । नेपाल छोड्ने बेलातिरको एउटा गोष्ठीमा वरिष्ठ लेखक साहित्यकार आनन्द देव भट्टको आशीर्वचन पाएकी थिएँ– कलमलाई कहिल्यै नरोक्नु भन्ने सल्लाह र प्रेरणा पनि पाएकी थिएँ । यी सबै कुरा म सम्झिरहन्थेँ, तर रोकिएको कलम चलाउन भने निकै मुस्किल परिरहेको थियो । लेख्ने वातावरण र लेखकहरूको सम्पर्क पनि मलाई मिलेको थिएन ।
दुई वर्ष त त्यत्तिकै बितिसकेको थियो । अलि अलि डायरी सम्म लेख्थेँ– मनको कुरा पोख्न र केही महत्त्वपूर्ण कुरा बिर्सिएला भनेर टिप्थेँ । तिनै टिपोर्ट नै पछिसम्म मलाई काम पनि लागे । नत्र त यहीँ लेखेका जस्ता कुरा पनि उहिल्यै बिर्सिसक्थेँ होला ।
चीन जानेबेला केही मनपर्ने पुस्तक र अन्य पाठ्यसामग्रीसँगै आफ्नो लेख भएका केही पत्रिका पनि साथमा लगेकी थिएँ । निशिकावाले आफ्ना मिल्ने साथीहरूसँग पनि सल्लाह गरिछन् ।
अर्का एकजना जापानी साथी थिए– सुसुमु आओकी । उनी साहित्य र इतिहासमा निकै चाख राख्थे । पर्यावरण विनाशबारे त्यो बेलादेखि नै अति चिन्तित थिए उनी । उनीहरू दुईजना मसँग कुरा गर्न आए– “तिमीलाई समस्या परिराखेको कुरा हामीलाई थाहा छ । हामी पनि समाधान खोज्दै छौँ’’ ।
उनीहरूले यसो भन्दा म भावुक भएछु । आँखाबाट नै आँसु आयो । आफन्त र मिल्ने साथीहरूले समेत सोच्न नभ्याएका कुराहरू कसरी यी नयाँ साथीहरूले सोच्न भ्याएको होला ! कसरी यो हदको आत्मीयता देखाउन सकेको होला !
उनीहरूले भने “तिम्रो बच्चा हाम्रो पनि बच्चा हो । तिमीलाई समस्या छ यतिबेला, हामी साथीभाइ मिलेर पैसा जम्मा गरिदिन सक्छौँ– स्कुल फीको निम्ति । तर, यो पनि थाहा छ– हामीलाई यसो गरे तिम्रो स्वाभिमानमा असर पर्छ । त्यसैले अर्को उपाय सोँच्दैछौँ । तिमी त लेख्ने मान्छे ! आफ्नो देशको बारे लेख न ! भर्खरै निशिकावा सान नेपाल पुगेर फर्केकी छन् ।
उनलाई नेपाल कस्तो मनपर्यो ! हामी सबैलाई मन पर्छ नेपाल ! नेपालकै बारेमा लेख । ती लेखहरूलाई जापानी पाठकसम्म पु¥याउन हामी साथीहरू सबै भएर सहयोग गरौँला ।’’
नभन्दै अर्को दिन हातमा जापानी येन लिएर “यो चलाउँदै गर, लेख पनि तुरुन्तै देउ’’ भन्न थाले । पुरानो पत्रिकाको नेपाली महिला मजदूरको बारेमा लेखेको लेखलाई सरोजले हतारमै अङ्ग्रेजिमा अनुवाद गरिदिए । तुरुन्तै आओकी सानले जापानीमा उल्था गरेर आफैले टाइप गरेर साथीहरूलाई बाँडिदिएछन्– अङ्ग्रेजी र जापानी दुवै भाषामा ।
त्यसरी महिनाको एकपल्ट करैले नयाँ लेख लेख्नुपर्ने भयो । यसरी मेरो खिया पर्न लागेको कलम फेरि दगुर्न थाल्यो । त्यो संकट र ती साथीहरूले नै मलाई लेखक बनाए । म लेखक बन्नुमा धेरै कारण र परिस्थितिको योगले, धेरै असल मानिसहरूको सहयोग र प्रेरणाले काम गरेका छन् । तीमध्ये, यी दुई आत्मीय जापानी साथीहरू खायोको निशिकावा र सुसुमु आओकीको सहयोग र प्रेरणालाई म कहिल्यै बिर्सिन सक्दिन !