काठमाडौं । भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । बाराको बारागढी गाउँपालिका–३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस आइतबार बिहान भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।
पालिका अध्यक्ष अशोककुमार जैलसवालले मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको प्रारम्भिक खबर आएको जानकारी दिए । भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।
केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।