काठमाडौं । नेपाली भाषाको शुद्धीकरणमा लागेका पाँचजना अभियन्ताहरुलाई सम्मान गरिएको छ । भाषाविद् शरचन्द्र वस्ती, चूडामणि गौतम, डा. गाउँले बलदेव अधिकारी, अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीलाई अभिव्यक्ति भेटघाट कार्यक्रममा सम्मान गरिएको हो ।
वि. सं. २०५८ देखि प्रत्येक महिना हुँदै आएको साहित्यकारहरुको भेटघाट कार्यक्रममा अग्रज साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेले भाषा अभियन्ताहरुलाई सम्मान गरिएको थियो । अभिव्यक्ति साहित्यिक पत्रिकाका प्रधान सम्पादक पवन आलोकको सभापतित्वमा भएको सो कार्यक्रममा सल्लाहकार श्रीओम श्रेष्ठ रोदन र कार्यकारी सम्पादक देविका तिमिल्सिनाले नेपाली भाषाको वर्तमान अवस्थाबारेमा बोलेका थिए ।
वि.सं.३०६९ साउन १२ गते तत्कालीन शिक्षामन्त्रीले गरेको निर्णयले प्रचलित नेपाली भाषा र व्याकरण भत्काउने काम गरेको थियो । त्यसको विरुद्धमा अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्की र डा. बलदेव अधिकारीले सर्वोच्चमा रिट हाल्नुभएको थियो । त्यही रिटको आधारमा सर्वोच्च अदालतले मन्त्रीस्तरीय निर्णय खारेज गरेर त्यस पूर्वको मानक भाषा र व्याकरण लागू गर्ने निर्णय गरेको थियो ।