काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । आज आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका हुन् ।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुबाट पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।
भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो । तर, उद्घाटन भने आज भएको हो ।