काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका विवादित सहसचिवहरु गृह मन्त्रालय थुप्रिएका छन् । यातायातको बेथिति र अनियमिततासँग जोडिएका सहसचिवहरू गृह महत्वपूर्ण जिम्मेवारी लिन आइपुगेका हुन् ।
इम्बोष्ट नम्बरल प्लेट खरिद र नक्कली लाइसेन्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेका डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराईदेखि उपसचिव हुँदा यातायातमा राइँदाइँ गरेका अर्का विवादित सहसचिव बसन्त अधिकारीसम्म गृह मन्त्रालयको आइपुगेका छन् । उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
शालिन र भद्र स्वभावका रमेश लेखक गृहमन्त्री भएका बेला विवादित सहसचिवको गृह मन्त्रालयमा पुगेका छन् । गृह मन्त्रालयमा विवादित सहसचिव राख्ने र उनीहरुलाई चोख्याउने मन्त्रालयको रुपमा चिनिन थालेको चर्चा कर्मचारीवृत्तमा शुरु भएको छ ।
गृहमन्त्री लेखक अनुभवी भएपनि उनले गलत पात्रले घेर्न थालेको मन्त्रालयभित्र चर्चा हुन थालेको छ । नक्कली लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट जस्ता अनियमितता छानबिन दायरामा रहेका विवादित सहसचिवहरू एकपछि अर्को गर्दै गृह मन्त्रालयमा आएपछि नेपाल प्रहरीको सिआइबी र अख्तियारलाई पनि काम गर्न अप्ठेरो पार्न थालेको स्रोतको दावी छ । यातायात व्यवस्था विभागको महानिर्देशक भएर विवादमा तानिएका सहसचिवहरू डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराई अहिले गृह मन्त्रालयमा हुन् ।
रवि लामिछाने गृहमन्त्री भएपछि गोगनबहादुर हमालले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पाएका हुन् । यातायातदेखि एयरपोर्ट काण्डसम्ममा विवादमा तानिएका हमाललाई रविले महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए । उनलाई गृहमन्त्री रमेश लेखकले पनि निरन्तरता दिएका छन् । हमाल अहिले महत्त्वपूर्ण जिल्लाको सिडिओ ताकेर बसिरहेको छन् ।
रवि कै पालामा अर्थ मन्त्रालयबाट गृह मन्त्रालय छिर्न खोजेका डा. टोकराज पाण्डे लेखक आएपछि गृहमा आइपुगेका हुन् । आफूलाई दूधले नुहाएको ठान्ने पाण्डे नक्कली लाइसेन्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छानबिन थालेपछि त्यसलाई प्रभावित बनाउन गृह छिर्न खोजेका थिए । उनी अहिले अख्तियारको छानबिनमा समेत रहेका छन । त्यस्ता विवादित पात्रलाई गृह ल्याएर सिन्धुपाल्चोक, सिन्धुली वा अर्खाखाची मध्ये एकमा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउने तयारी भइरहेको छ ।
नारायणकाजी श्रेष्ठ कै पालामा यातायात व्यवस्था विभागको महानिर्देशक हुँदै गृह मन्त्रालय छिरेका नारायणप्रसाद भट्टराई अहिले गृहकै महत्त्वपूर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका छन् । उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा गाडीले हानेर मान्छे मार्नेलाई हिरासतमै नक्कली लाइसेन्स दिएको ‘केस’मा सिआईबीले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत चलाएको छ ।
उपसचिव हुँदा यातायातमा राज गरेका बसन्त अधिकारी पनि गृह मन्त्रालय छन् । काठमाडौं महानगरपालिकामा करारमा स्वास्थ्यको कर्मचारी भर्ति गर्दा ‘किर्ते’ गरेको आरोप लागेका उनी मधेशी आयोग पुगेका थिए । रवि लामिछाने गृहमन्त्री हुनेवित्तिकै गृह छिरेका सहसचिव अधिकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छन् ।