काठमाडौं । सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्री र सचिवसहित भ्रष्टाचार मुद्दा दायर भएपछि सरकारले नेताका नाममा प्रतिष्ठान खोल्न एउटा कार्यविधि बनाउन थालेको छ ।
नेताहरुको नाममा प्रतिष्ठान खुल्ने र सरकारले दिने अनुदान, सहयोगका नाममा आर्थिक घोटाला हुन थालेपछि सरकारले कार्यविधि बनाउन थालेको हो । जसका कारण अहिले इमानदार त्यागी र बहुदलीय व्यवस्थाका लागि लामो समय जेल नेल खाएका नेताहरुको नाममा कुनै सामाजिक प्रतिष्ठान खोल्नुपर्यो भनेपनि त्यसलाई रोकिएको छ ।
त्यसको पीडा १७ वर्ष जेलजीवन बिताएका नेलसन मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारीले भोग्नुपरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको दर्ता फाँटमा घण्टौं कुर्दै घर फर्कनुपरेको छ । मोहनचन्द्र अधिकारी प्रतिष्ठान खोल्ने अधिकारीको इच्छामा झलनाथको घोटाला बाधक बनेको छ ।
‘झलनाथ खनाल प्रतिष्ठनको नाममा गएको रकम जसरी हिनामिना गरियो, मधेश प्रदेशका मन्त्रीहरु नै भ्रष्टाचार जेल जाने अवस्था आयो, नेता र प्रतिष्ठानकै बद्नाम भयो, यसले सरकारलाई सोच्न बाध्य बनायो । त्यसकारण कार्यविधि बनाएर मात्रै प्रतिष्ठान खोल्न दिने निर्णयमा पुगेका छौ,’ गृहमन्त्रालयका एक सहसचिवले भने ।
केही समयअघि विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध भ्रष्टचारको मुद्धा दर्ता गरेपछि सरकार झस्किएको थियो ।
मुलुकभर नेताहरुको नाममा दर्जनौ प्रतिष्ठान खुलिरहेका र राज्यले ती प्रतिष्ठानलाई अनुदान दिइरहकाले अनुदान मात्रै बाड्ने काम भएको उपलब्धी नभएको गृहमन्त्रालयको ठहर छ । पछिल्लो पटक नेपालकै नेशनल मण्डेलाको रुपमा चिनिएका मोहनचन्द्र अधिकारीको नाममा खुल्ने लागेको प्रतिष्ठानलाई राज्यले रोकेको छ ।
केही दिनअघि आफ्नो नाममा सामाजिक प्रतिष्ठान खोल्ने प्रस्तवासहित जिल्ला प्रशासन कार्यालय पुगेका अधिकारीलाई केही समय कुर्न आग्रह गरिएको थियो । अधिकारीलाई गृहमन्त्रालय नै बोलाएर कार्यविधि बन्दै छ केही समय कुरिदिन आग्रह गरिएको थियो ।
विभिन्न रोगबाट पीडित रहेका अधिकारीको सरकारले दिएको एउटा जग्गा सामाजिक काममा लगाउने गरी उनले प्रतिष्ठान खोल्न खोजेका थिए । खासगरी उनी अहिले विरामी भएकाले सामान्य हिडडुल गर्न अप्ठेरो परिरहेको छ ।
नेकपा एमाले सरकारमा भएपनि उनको उपचारमा खासै ध्यान दिएको छैन । सँगै जेल जीवन व्यतित गरेका केपी ओली प्रधानमन्त्री भएपनि उनले भेट्न समेत पाएका छैनन । माधव नेपाल एमालेमा हुँदा दिने गरेको पाँच हजार उपचार खर्च पनि ओली अध्यक्ष भएर आएपछि रोकिएको छ ।
मोडल अस्पताल निशुःल्क उपचार गर्ने भनेको थियो त्यो पनि नपाएका गुनासो उनीसँग छ । श्रीमतीको पेन्सनले घर खर्च र चलाएर बसेका छन् । उपचार खर्च भने अभाव रहेको छ । अधिकारीसँग नजिक रहेका एक नेताका अनुसार उनी अहिले आर्थिक अभावमा जीवन गुजारिरहेका छन् । पार्टीले पनि उनलाई अवमूल्यण गरेको छ भने समकालीन नेताहरुले पनि उनीप्रति वेवास्था गरेका छन् ।
तत्कालीन समयमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भक्तपुरमा केही आना जग्गा पाएका थिए । सोही जग्गालाई सामाजिक काममा लगाउने उदेश्यका साथ अधिकारीले आफ्नो नाममा प्रतिष्ठान बनाउनेका लागि सबै प्रकृया पुर्याएर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका उनलाई खनालको नाममा खुलेको प्रतिष्ठानलाई देखाएर रोकिएको थियो । ‘कस्ता कस्ता प्रतिष्ठानलाई खुल्न दिने कस्ता प्रतिष्ठानलाई अनुदान दिने सबै मापदण्ड तयार हुँदैछ त्यसकारण केही दिन कुर्नुपर्ने अवस्था छ’, मन्त्रालयका एक सहसचिवले अधिकारीलाई भनेका थिए ।