Logo
Logo

प्रस्तावित १७ राजदूतको सुनुवाइ शुक्रबारदेखि


252
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिले बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई यहि भदौ १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाईको कार्यतालिका पारित गरेको हो ।

कार्यतालिका अनुसार भाद्र १४ गते शुक्रबार समितिले उजुरीकर्ताहरुहरुसंग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए ।

उनले राजदूत सिफारिसका विषयमा परराष्ट्रमन्त्रीसंग पनि छलफल गर्ने निर्णय भएको बताए । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए–नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसंग जानकारी लिइने उनले बताए ।

बैठकमा समिति सदस्यहरुले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद जीवन परियारले पछि परेका समूदायलाई पनि सहभागीताका बारेमा पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सहि ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ ।

सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्