विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार दिएको समर्थन फिर्ता लिएको छ । एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र शुक्रबार दर्ता भएको छ ।
केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए । यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले पत्र लेखेर समर्थन फिर्ता लिएको हो ।
नेपालको सविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २७ मा मुख्यमन्त्री बन्दा कार्कीलाई माओवादी सांसदहरूले समर्थन गरेका थिए ।
माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । १३ जना सांसद रहेको माओवादीले समर्थन फिर्ता लिएकै दिन सरकारलाई २९ जना सांसद रहेको कांग्रेसले समर्थन जनाएको छ । कांग्रेसले कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र शुक्रबार नै सचिवालयमा दर्ता गराएको छ ।
एमालेसँग ४० सांसद छन् । कांग्रेस र एमाले गरी ६९ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ ।