Logo
Logo

सीमा सुरक्षाको संघर्ष टुक्राटुक्रामा मात्रै नभई सिँगोरुपमा लड्न आवश्यक छ : गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता

0
Shares

तस्वीर : रासस

काठमाडौं, २८ बैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोवरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने बताएका छन् ।
त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उनले चीनले सहमति नजनाउने हो भने त्यस सडकको खास औचित्य नहुने हुँदा चीनसँग पनि छलफल अघि बढाउनुन आवश्यक रहेको बताए । ‘त्यसलाई व्यापारिक मार्गका रुपमा प्रयोग गर्न खोजिँदैछ, त्यसकारण त्रिदेशीयरुपमा छलफल गरी लिपुलेक भञ्जाङलाई प्रयोग गर्न नदिने हो भने मुलुकको आन्दोलनले सफलता पाउने छ’, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री थापाले भने । सोही विषयमा छलफल गर्न समितिले गृहमन्त्री थापालाई बोलाएको थियो ।
सन् १८१६ को सुगौली सन्धि ब्रिटिससँग गरिएकाले यसलाई निष्कर्षमा पु¥याउनका लागि सांसदहरुले बेलायतसँग समेत छलफल गर्नुपर्नेमा जोड दिएका थिए । गृहमन्त्री थापाले बेलायत सरकारसँग छलफल गर्ने कुरा मननयोग्य रहेको समेत उनले बताए ।
सीमा सुरक्षाको संघर्ष टुक्राटुक्रामा मात्रै नभई सिँगोरुपमा लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले कूटनीतिक प्रयासलाई गति दिने र यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । सरकारले यस विषयमा सकारात्मकरुपमा लिने उनले विश्वास व्यक्त गरे । उनले प्राविधिकरुपमा मुलुकको भूमि समेटेर नक्सा जारी गर्नु जरुरी रहेको औँल्याउँदै यसतर्फ सरकारले गम्भीररुपमा सोच्ने र आफूले निर्णायक निकायमा पु¥याउने आश्वासन दिए ।
गृहमन्त्री थापाले पूर्वशासकको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्दै गएको समेत बताए । उनले भने, ‘उनीहरुले राष्ट्रियतासम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालको सीमामा भारतीय सेनालाई चौकी स्थापना गर्न अनुमति दिनु हो । यो गम्भीर र ऐतिहासिक भुल हो, त्यसैको परिणाम हामीहरुले भोग्दै आएका हौँ ।’
चीनको आक्रमणबाट बचाउन भारतले नेपालको सीमामा अस्थायी चौकी राख्ने अनुमति मागेकामा तत्कालीन शासकले अनुमति दिएका र पछि भारतले आफ्नो सेनालाई स्थायीरुपमा राखेको गृहमन्त्री थापाको प्रष्टोक्ति थियो ।

केही हदमा तत्कालीन शासकले लडेर केहीलाई फर्काउन सफल भए पनि कालापानीबाट भारतीय सेना फर्काउन नसक्दा आज पनि हजारौँ भारतीय सेना कालापानी क्षेत्रमा छन् । सैन्य मात्रै नभई राजनीतिकरुपमा पनि लिपुलेक, कालापानी क्षेत्रमा भारतले कब्जा जमाएको छ । अहिले बाटो बनाएको मात्रै विषय नभई भारतले प्रशासनिक इकाइलगायतको थुप्रै संरचना बनाइसकेको गृहमन्त्री थापाले जानकारी दिए ।
भारतले झण्डै ४०० वर्ग किलोमिटर नेपालको भूभाग अतिक्रमण गरेको उनले बताए । भारतले राजनीतिक नक्सा बनाएपछि नेपाल सरकारले समेत आवाज उठाएको स्मरण गरे । अहिले मानसरोबर जाने बाटोको विषयमा सरकारले आधिकारिकरुपमा विरोध जनाइसकेको मन्त्री थापाले सांसदहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्