अध्ययन र लेखहरुमार्फत् विगत एक दशकदेखि आफ्नो इतिहासप्रतिको अभिरुची प्रकट गरिरहेको बेला लिम्बूहरुका लागि राज्यले श्रीजङ्ग पल्टन स्थापना गरिदिएका हुन् भन्ने भ्रम पालेर बसेका कतिपय लिम्बूहरु रहेको पाएँ ।
खासगरी इतिहासकार शिवकुमार श्रेष्ठले लिम्बूवानका अगुवा सुब्बाहरुले तत्कालिन राजासँग माग गरेअनुसार त्येअङ्सी सिरिजङ्गाको स्मृतिमा श्रीजङ्ग पल्टन स्थापना गरिएको चर्चा छ भनी उल्लेख गरिदिएकोले कतिपय लिम्बूहरुमा यस्तो भ्रम सिर्जना भएको स्पष्ट छ ।
श्रीजङ्ग पल्टन त्येअङ्सी सिरिजङ्गाको स्मृतिमा लिम्बूवानमा लिम्बू पल्टनको रुपमा स्थापना भएको कुनै ऐतिहासिक प्रमाण पाइँदैन । बरु यो पल्टनको स्थापना वि.सं. १८४२ वैशाख १ गते रणबहादुर शाहको समयमा काठमाडौँमा स्थापना भएको जङ्गी अड्डाको आधिकारिक प्रकाशन ‘नेपालको सैनिक इतिहास’ भाग–२ मा उल्लेख छ ।
राई, लिम्बू, मगर र गुरुङका लागि छुट्टाछुट्टै जातिगत पल्टनहरु खडा गरिदिने क्रममा भवानी दल र पुरानो गोरखलाई मगरको र कालीबहादुरलाई गुरुङको जातीय पल्टनका रुपमा परिणत गरियो भने भैरवनाथ पल्टन राई लिम्बू पल्टनका रुपमा कायम रह्यो ।
भैरवनाथ पल्टन शिकारी पल्टनका रुपमा रहेको थियो । राजा महाराजाहरु शिकारमा निस्कदा उनीहरुको बन्दोबस्ती गरिदिने काम यस पल्टनका जवानहरुले गर्थे । यसमा राई लिम्बूलाई भर्ना गर्न थालियो । यसैलाई आधार बनाएर डेलियन राइटले आफ्नो पुस्तक ‘हिस्ट्री अफ नेपाल’मा ‘लिम्बूहरु सेनामा छन्, उनीहरु शिकारमा प्रख्यात छन्’ भनी उल्लेख गरेका छन् । राई लिम्बू पल्टनका रुपमा रहेको भैरवनाथ २००९ सालमा सैनिक पुनर्गठन हुँदा खारेजीमा प-यो र यो पल्टनमा सबै जातिलाई लिन थालियो ।
जङ्गबहादुरको समयमा वि.सं. १९०५ मा यो पल्टन छाडेर धेरै सङ्ख्यामा राई लिम्बूहरु आफ्नै थातथलो पूर्वतिर फर्केका थिए । यो घटनाबाट क्रुद्ध जङ्गबहादुरले पलायन भई गएका राई लिम्बूलाई सकेसम्म फकाइफुल्याई, नभए श्रीजङ्ग पल्टन लगाएर नेलले बाँधी हाजिर गराउन त्यसतर्फ खटिगएका कुम्भेदान शिवदल खड्कालाई कडाईका साथ आदेश जारी गर्दा पनि राई लिम्बूहरुले अटेर गरेपछि जङ्गबहादुर स्वयम् कायल भई ‘जागिर खान्न भन्नेलाई कर नलगाउनू’ भन्ने अर्को ब्यहोरा लेखेर पठाउन बाध्य भएका थिए ।
लामो समय श्रीजङ्ग पल्टन लिम्बूवानमा बसेको र लिम्बूहरुले यसका सिपाहीहरुको खान्गीका लागि खेतहरु चढाएका थिए ।
राई लिम्बूहरुका लागि गठन गरिएको पल्टन भैरवनाथ हो भनी धेरैपटक लेखमार्फत् र पछि पुस्तकमार्फत् नै इतिहास स्पष्ट पार्ने इतिहासकार हुन्, मञ्जुलकुमार याक्थुङ्वा । तर उनको यस्तो खोज र लेखनलाई गम्भीरतापूर्वक नपढिदिँदा कतिपय लिम्बूहरुमा श्रीजङ्ग पल्टन लिम्बूहरुका लागि गठन भएको पल्टन हो भन्ने भ्रम मेटिन सकेको छैन ।
आफ्नो पुर्खा स्वयम् उपत्यकाको ललितपुरस्थित तिखेदेवलको पुरानो बासिन्दा भएको, आफ्नै पुख्र्यौली नातेदार लप्टन शमशेरबहादुर फागो चोङवाङले भैरवनाथ पल्टनमा रहेर सेवा गर्ने अधिकृतदेखि सिपाही दर्जासम्मका राई, लिम्बू, याक्खा र सुनुवारहरुलाई भेला गरेर यक्वा पूजा चलाएको इतिहासको आधिकारिक लेखक हुन्, याक्थुङ्वा । वि.सं. १९०५ देखि पूजा चल्दै सानोहात्तिबनस्थित जुन पुरानो माङहिम छ, त्यसको विरासतसँग जोडिदै आएका याक्थुङ्वा नै त्यसको इतिहासको आधिकारिक साक्षी थिए ।
अब यी साक्षीको भौतिक देह हामीसम्मुख प्रकट हुने छैन, तर उनले खोजी, केलाई, निफानी तयार पारिदिएको ऐतिहासिक प्रमाणहरुले नै उपत्यकामा राई लिम्बूहरुको पुरानो बसोबास र वस्तुस्थितिको चित्रणलाई हामीसम्मुख प्रमाणप्रमेय प्रकट गर्नेछन् । यसले हामीलाई इतिहास लेखनको आधिकारितामा प्रशस्त भरथेग गर्नेमा कुनै सन्देह छैन ।
याक्थुङ्वालाई पहिलोपटक देख्दा
२०४७ सालदेखि किरात याक्थुङ चुम्लुङसँग आवद्ध भएँ । २०४९ सालमा धरानमा सम्पन्न चुम्लुङको दोस्रो महाधिवेशनमा सहभागी हुँदा पहिलोपटक देखेको हुँ, याक्थुङ्वालाई । सभा हलमा महाधिवेशन प्रतिनिधिका रुपमा सबैभन्दा अघिल्लो सीटमा बसेर अध्यक्ष मण्डलसँग केही ओजिला प्रश्नहरु गरिरहेको देखेपछि देख्दैमा विशिष्ट लाग्ने ती परिपक्व ब्यक्तित्त्वका बारेमा धनकुटा चुम्लुङका नेता टेकरत्न चेम्जोङसँग कानेखुसी पारामा जिज्ञासा राखेँ, ‘उहाँ चाहिँ को हुनुहुन्छ नि ?’
‘अरे, उहाँ त लिम्बूहरुको पहिलो सीडिओ हो नि !’
चेम्जोङको जवाफ सुनेर म आफू एक पटक झसङ्गै भएको थिएँ । उनै याक्थुङ्वालाई महाधिवेशनले उपाध्यक्ष चुन्यो ।
चुम्लुङको २०५२ सालमा फिदिममा सम्पन्न तेस्रो महाधिवेशनले याक्थुङ्वालाई अध्यक्ष चुन्दा एक सञ्चारकर्मीको हैसियतले महाधिवेशनमा मेरो पनि सहभागिता थियो । हालसम्म चुम्लुङको महाधिवेशनहरुमध्ये यी दुई वटामा मात्रै हो, मैले भौतिक सहभागिता जनाएको ।
इतिहास र मुन्धुममा मरिहत्ते
पत्रकारितालाई अलि फराकिलो रुपबाट अगाडी बढाउँदै थप अध्ययन र वृत्तिविकासका लागि काठमाडौँमा आएपछि एक सञ्चारकर्मीको रुपमा याक्थुङ्वासँग सानिध्य बढाउँदै जाँदा थाहा भयो, लामो समयको निजामति प्रशासनिक जिम्मेवारीबाट थकाई मार्दै सेवानिवृत्त जीवनमा उनी समाजसेवाका साथ इतिहास र मुन्धुमको लागि मरिमेटेर लागिरहेका छन् । खासगरी इतिहास विषयको जिज्ञासा लिएर याक्थुङ्वाको छेउछाउ पुगेर तृप्त हुन चाहन्थेँ म ।
यस्तै काठमाडौँ उपत्यकामा लिम्बूहरुले यक्वा तङ्नाम र चासोक तङनाम मनाउन सुरु गरेको इतिहासका आधिकारिक ब्याख्याता उनै याक्थुङ्वा भएकाले यस विषयको जिज्ञासा पनि उनीतिर स्वभाविक रुपमा तेर्सिने भयो । दशैँ लिम्बूहरुको चाड नभएको विषयमा ऐतिहासिक र सांस्कृतिक तर्कसहित लेखिरहने हुँदा आफूले लेख्ने गरेको अखबारका लागि आधिकारिक उद्धरणका लागि पनि याक्थुङ्वासँग मेरो नियमित सम्पर्क रहने गथ्र्यो । यस अर्थमा उनी ज्ञानका भण्डार थिए ।
सेनाको हवल्दारदेखि प्रजिअसम्म
याक्थुङ्वासँग निजामति सेवामा रहँदाताकाको निक्कै ठूलो अनुभवको संगालो थियो । एउटा लिम्बूको छोरा निजामति सेवामा प्रवेश गरेर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनु अति असामान्य घटना थियो, त्यो बेला । अहिले पनि कुनै लिम्बूको सन्तान प्रजिअको जिम्मेवारीमा पुग्नु सामान्य घटना हुँदैन भने याक्थुङ्वाको समयको त अर्कै कुरा भयो ।
एक दिन निजामति सेवामा उनको प्रवेशको सन्दर्भलाई लिएर जिज्ञासा राख्दा उनले पहिले आफू जङ्गी सेवामा काम गरेको अनुभवको पुन्तरो फुकाउँदा मलाई निक्कै आश्चार्य लागेको थियो । उनले भने, ‘म सिपाहीबाटै जङ्गी सेवामा प्रवेश गरेँ । म धनकुटा र इलाममा बसेको छु । म सेनाको हवल्दारसम्म भएँ । पछि त्यताभन्दा निजामतितिर आकर्षित भएपछि सेनाको जागिर छाडेँ ।’
मैले चुम्लुङका कतिपय पदाधिकारीहरुसँगको उठबसका क्रममा यो याक्थुङ्वाको यो प्रसङ्ग सुनाउँदा उनीहरु आश्चार्यमा परेपछि लाग्यो, याक्थुङ्वाको सैन्य सेवाको जागिर खाँदा हवल्दारसम्म भएको घटना त्यति खुलस्त भएको रहेनछ ।
२०४५ साल भदौ ५ गतेको महाभूकम्पमा भक्तपुरमा पनि ठूलै जनधनको क्षति भयो । त्यहाँ भूकम्प पीडितहरुलाई राहत वितरणको विषयमा विवाद हुँदा तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य कर्ण ह्योजु मारिए ।
तत्कालिन ब्यवस्थाले ह्योजुको हत्यामा तत्कालिन नेपाल मजदुर किसान संगठन (हालः नेमकिपा) को हात रहेको शङ्का गरेको थियो । उनी पहिले नेमकिपाकै कार्यकर्ता थिए । ह्योजुको ज्यान गएपछि नेमकिपाका कार्यकर्ताहरु पक्राउ परेका थिए, कतिपयलाई मुद्दा चलाइएको थियो । यो काण्डपछिको चुनौतिपूर्ण समयमा याक्थुङ्वाको सरुवा भक्तपुरमा भएको थियो । त्यहाँको प्रजिअ भएको बेलाको अनुभव उनीबाट सुन्ने अवसर पाएको थिएँ ।
त्यसबेला भक्तपुरमा काम गर्न जाने कर्मचारीलाई बडो खतरा भएको अरुले आफूलाई सुनाएको उनी बताउँथे । उनले भनेका थिए, ‘कुन्नि के देखेर हो, मलाई सरकारले बाराबाट भक्तपुरमै सरुवा ग¥यो । निजामति सेवाकै साथीहरु मलाई डर देखाउँदै रोहितका कार्यकर्ता खतरा छन् । उनीहरुले गुरिल्ला तालिम लिएका छन् जोगिनु है भन्थे । मलाई भने रत्तिभर डर थिएन ।
कतिसम्म भने म त्यहाँ रहुन्जेल भक्तपुरबासीको घर घरभित्रै पसेर उनीहरुको दुःख सुखबारे सोधखोज गर्थेँ । केही समय अशान्त रहेको भक्तपुरलाई मैले आफ्नो कार्यकालमा शान्त बनाएँ । कसरी काम राम्ररी सम्पन्न गर्ने हो, त्यो आफ्नो कुशलतामा भर पर्छ । अरुको कुरामा भर पर्न हुँदैन ।’ भक्तपुरभन्दाअघि याक्थुङ्वा बाराको प्रजिअ थिए ।
बारा जिल्लामा उनी प्रजिअ भएको बेला त्यहाँ एउटा बडो गजबको घटना भएको रहेछ । यो कुरा याक्थुङ्वाले भनेका होइनन्, साप्ताहिक ‘विमर्श’मा घटनासँग सम्बन्धित ब्यक्तिको अन्तरवार्ता पढेर थाहा पाएको हुँ । कुरा के परेछ भने ती ब्यक्ति आफ्नो चप्पल पसलमा बसिरहेका थिए ।
अचानक एक विहान त्यहाँका बहालवाला प्रजिअ आएर उनलाई रन्थनिने गरी झापड मारे । के कारणले झापड मारेका हुन् उनले थाहा पाउन सकेनन् । त्यसपछि ती चप्पल पसलेमा प्रतिशोधको भावना जाग्यो । उनी ब्यवस्थाविरोधी भई त्यहाँका स्थानीय कम्युनिस्ट नेताहरुसँग गोप्य सम्पर्कमा पुगे । उनी कम्युनिस्ट राजनीतिमा छिरे ।
पछि ती ब्यक्ति एमालेको नेता भए, बाराबाट चुनाव जिते । गृह राज्यमन्त्री पनि भए । उनी हुन्, रिजवान अन्सारी । उनी कसरी कम्युनिस्ट पार्टीमा आवद्ध भए भन्ने प्रसङ्ग माथि परिसकेको छ । उनले आफूलाई झापड हान्ने प्रजिअको नाम भने लिएका छैनन् । यति मात्र भनेका छन्, ‘एक जना याक्थुङ्वा थरका सीडीओ थिए, उनले मलाई पसलमा बसिरहेको बेला बिनाकारण झापड मारे ।’
हालसम्म नेपालमा याक्थुङ्वा थरका प्रजिअ कोही भएका छैनन्, मञ्जुलकुमार बाहेक । उनै याक्थुङ्वाको झापडले निक्कै ठूलो काम गरेको रहेछ, जसका कारण रिजवान अन्सारी मूलुकको गृह राज्यमन्त्रीसम्म भए । यस्ता अनेकौँ घटनाहरु मञ्जुलकुमार याक्थुङ्वाको जीवनमा घटे ।
एक दिन हात्तिबनबाट चासोक तङ्नाम मनाएर फर्कदै गर्दा साथीहरुले अचानक तिखेदेवलको एक विहे घरमा पु¥याए । एक वनेम थरका डाक्टरको विहे हुँदैथियो । निम्तालु साथीहरुका साथ बिना निम्तोको म विहे खान पुगेको थिएँ । हात्तीबनमै अलिकति सुरा चढाइसकेको थिएँ । बिहे घरमा अलिकति थपनी भएको थियो ।
त्यहाँ याक्थुङ्वाको पनि गरिमामय उपस्थिति थियो । मैले उनीसमक्ष प्रस्ताव गरेँ, ‘हजुरको जीवनमा अनेकौँ गौरवपूर्ण घटना र अनुभवहरु छन्, जो हामीजस्ता पुस्ताका लागि राम्रो मार्गदर्शन हुनसक्छ । हजुरले तिनीहरुलाई लेखेर एउटा पुस्तक तयार पार्नु भए असाध्यै राम्रो हुने थियो । बरु अलि राम्ररी हातपाउ चल्ने हामीलाई भन्नुभयो भने हामी लेखेर सहयोग गर्न सक्थ्यौँ कि !’
‘भाईले भनेको यो कुरा सोह«ै आना ठीक हो । तर जाँड खाएको बेला भनेको कुरामा मलाई त्यति विश्वास चाहिँ लाग्दैन हौ’, याक्थुङ्वाले त्यतिखेरै शङ्का ब्यक्त गरेका थिए ।
पछि एउटा भेटमा फेरि मैले यो प्रसङ्ग कोट्याएको मात्र के थिएँ, म जिल्लाराम परेँ । याक्थुङ्वाको भनाई थियो, ‘मैले उसबेलै भनेको होइन भाई, जाँड खाएको बेला भनेको कुरामा मलाई विश्वास लाग्दैन भनेर ।’
उनको कुरा ठीक थियो । मैले सघाउपघाउ गर्न नसकेपनि उहाँबाट एक आत्मसंस्मरणात्मक कृतिको अपेक्षा चाहिँ मैले गरिरहेको थिएँ । म नेपालमै भएका भए उहाँलाई आत्मसंस्मरण लेख्न घच्घच्याइरहने थिएँ । तर, समयले मलाई पनि कता हुत्यायो कता ! समयले साथ दिएको भए उनले बताउँदै जाने र मैले टिप्दै जाने इच्छा थियो । यो इच्छालाई मैले पूर्ण रुपमा वाचाबन्धन भने गरेको थिइनँ, मात्रै भनेको थिएँ, ‘हजुरको आत्मसंस्मरणात्मक कृति प्रकाशन भए साह्रै गजब हुने थियो ! हामीले पनि सघाउपघाउ गर्न सक्थ्यौँ कि !’ तर उनको आत्मसंस्मरण पढ्ने इच्छा अधुरो रह्यो ।
यदि उनले संस्मरणहरु लेखिराखेका छन् भने तिनीहरुलाई प्रकाशनमा ल्याउन जरुरी छ । हामी पढ्न आतुर छौँ ।