Logo
Logo

नेपालमा कोरोनाको जोखिम बढ्दै, संक्रमितको संख्यो १२१ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ बैशाख । नेपाल सरकारले लकडाउन केही खुकुलो पारेसँगै नेपालमा कोरोना संक्रमित पनि बढ्न थालेका छन् । सोमबार मात्र नेपालमा ११ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या १२१ पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा सोमबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२१ पुगेको हो ।
यसअघि सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा सोमबार संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका हुन् । त्यस्तै, धरान प्रयोगशालामा परीक्षणमा गरिएको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २ र २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएकामा दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि पुनः अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै, काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।
कोरोना संक्रमणको त्रास कायमै रहेकै बेला सरकारले लकडाउनमा केही खुुकुलो पारेको छ । जसका कारण बजारमा भीडभाड बढेको छ । यसले अझै कोरोनाको जोखिम बढ्दै गएको छ । सरकारी कार्यालय, बैंकिङ सेवालगायत अत्यावश्यक सेवाका लागि आइतबारबाट लकडाउनमा केही खुकुलो पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्