काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीलाई महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ ।
हरितालिका तीजको व्यवस्थापनसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीलाई मँहगा गरगहना र स–साना बालबालिका लिएर नआउन आग्रह गरेको हो । भीडभाडमा गरगहना चोरी हुने र हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरिएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए ।
‘विगतमा वर्षका गरगहना चोरी भएको हराएको गुनासो धेरै आएकाले यसवर्षदेखि सार्वजनिक रुपमै गरगहना लगाएर नआउन अपील गरेका हौं’ उनले भने, ‘महँगा गरगहना हराएमा स्वयम व्यक्तिलाई मात्र नभई उसको परिवारलाई समेत मानसिक असर पर्ने भएकाले सर्तकता अपनाउन भनेका छौँ । साथै मंहगा सारी लगाएर आउँदा बत्ति बाल्ने क्रममा आगोले भेट्दा ठूलो नोक्सानी पुग्छ । त्यसकारण धूपबत्ती गर्ने क्रममा ध्यान दिनुहोला ।’
विकास कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक, पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।
अरुबेला बिहान ४ बजेदेखि दर्शनका लागि चारै ढोका खोलेपनि तीजका लागि भोलि बिहान ३ बजेदेखि ४ वटै ढोका खुल्ला गरिने भएको छ । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रुपमा नरोकिने उनले बताए ।
दर्शनका लागि यस्तो व्यवस्था
यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी गरेको छ ।
दर्शनार्थीले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुदगाडेश्वर– उत्तरढोकाबाट मन्दिर प्राङग प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरीमूल ढोकाबाट कैलाश दक्षिण जुता चप्पलकक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।
मित्रपार्क जयवागेश्वरी–गौशाला–भवनेश्वरी–शंकराचार्यमठ दक्षिण फलामे पुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।
त्यस्तै, पिङलास्थानबाट वनकाली, चार शिवालय पञ्चदेवलपर्व वज्रघर–दक्षिणढोकासम्मको लाइनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राण प्रवेश गरी दक्षिणढोका बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ताचप्पलकक्षबाट जुत्ताचप्पल लिई फकने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, तिलगंगा राममन्दिर हुँदै बागमती नदी पर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व डोकावाट प्रवेश गरी पर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।
कोषले मन्दिर दर्शन गर्न आएका दर्शनार्थीहरुलाई पार्किङको लागि तीलगंगा आँखा अस्पताल तर्फको खुल्ला क्षेत्र, सिफल चौरको खाली स्थान, गुह्येश्वरी पारीको खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर अमालकोट कचहरीको कार्यालय पशुपति क्षेत्र विकास कोषका सवारी साधनहरु र पर्वसँग सम्बन्धित निकायका सवारीहरु साधन पार्किङ गर्न सकिने व्यवस्था मिलाएको छ ।