Logo
Logo

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य


189
Shares

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।

गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत तथा अन्तक्र्रियामा उनले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा कर्मचारी भर्ना प्रक्रियासमेत अगाडि बढाइने बताए ।

‘सङ्घीय सरकारले हस्तान्तरण गरेको स्वीकृत दरबन्दीअनुसार प्रदेश सरकार मातहत रहेका कार्यालयमा चार हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकामा हाल दुई हजार एक सय ७८ जना कर्मचारीमात्र कार्यरत रहेका छन् । रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्ट लोकसेवा आयोगमार्फत विज्ञापन खोलिने छ । त्यसपछि सेवा प्रवाहमा थप सहज हुनेछ’, मुख्यमन्त्री आचार्यले भने । उनले अर्घाखाँची र गृहनगरको विकासका लागि सङ्घीय सरकारसँग समन्वय गरेर पर्याप्त बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका सबै कार्यालय र प्रदेश सरकारबाट प्राप्त भएका तर नगरपालिकाले कार्यान्वयन गर्ने बजेटका योजना प्रतिस्पर्धाबाट गर्न पत्राचार गरिएको बताए । ‘नाम उपभोक्ता समितिको देखाउने तर काम निर्माण व्यवसायीलाई गराउने प्रवृत्ति छ । त्यसैले बीचमा हुने चलखेल रोक्न सबै काम प्रतिस्पर्धाबाट गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । सोहीअनुसार पत्राचार गरिसकेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्