काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राजीनामा दिएकी छिन् ।
वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । दुई वर्षअघि उपनिर्देशक नियुक्त भएकी वैद्यले तालिम विभागमा हालै भएको निर्देशक नियुक्तीमा असन्तुष्टी जनाएर राजिनामा दिएकी हुन् ।
विभागमा उपनिर्देशकबाट निर्देशक नियुक्त भएपनि राखेपले तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा कराँतेका वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईलाई नियुक्त गरेको थियो । उपनिर्देशक हुँदाहुँदै बाहिरबाट ल्याएर निर्देशक बनाइएको र सिनियरलाई अन्याय गरिएको वैद्यले गुनासो गरिन् ।
बक्सिङ प्रशिक्षक प्रचन्ड शर्माले भदौ अन्तिम साता अनिवार्य अवकाश पाएपछि तालिम तथा प्रशिक्षण विभागमा निर्देशक पद रिक्त थियो । उपनिर्देशक रहेका वैद्य र विष्णुबहादुर सिंहमध्येबाट निर्देशक नियुक्त हुने आँकलन गरिएपनि प्रसाईलाई ल्याइएपछि राखेपका खेल प्रशिक्षकहरुको नेतृत्व गर्ने विभागमा विवाद देखिएको हो ।