एजेन्सी । ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले भियतनामको उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । ‘यागी’ तुफान शनिबार भियतनामको भूमिमा बजारिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किएपछि सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् ।
विद्यालयहरु बन्द गरिएको छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।