टुँडिखेलमा आयोजित देउडा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्न खोज्दा युवाहरुले जसरी हुटिङ गरे, त्यो दृश्यले बितेका दिनको सम्झना दिलायो । आन्दोलनको झिल्का युवा, विद्यार्थीहरुको यस्तै विरोधले सल्कँदै जाने हो ।
०३६ सालमा विद्यार्थीहरुले केही माग गरेर आन्दोलनमा उत्रिएका थिएनन्, पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो, त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन विद्यार्थीहरुको एक हुल नेपालस्थित पाकिस्तानी दूतावास लाजिम्पाटमा पुगे । त्यहाँ प्रहरीले बल प्रयोग ग¥यो, कति विद्यार्थीहरु घाइते भए, कति पक्राउ परे । यति सानो झिल्काबाट सुरु भएको विरोध प्रदर्शन देशव्यापी बन्यो । काठमाडौंमा नेपाल वायुसेवा निगम, गोरखापत्र संस्थानमा आगो लगाइयो । विद्यार्थी आन्दोलन मत्थर पार्न राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गर्न बाध्य भए ।
२०४६ सालको जनआन्दोलनको पृष्ठभूमि पनि यस्तै वातावरणमा तयार भएको थियो । त्यतिबेला पनि युवा विद्यार्थीहरुले सैनिक मञ्चमै शासकहरुको विरोध प्रदर्शन गरेका थिए । फाट्टफुट्ट पञ्चायती व्यवस्थाविरुद्ध नारा जुलुस हुन्थ्यो । त्यतिबेला युवा विद्यार्थीहरुले महँगीविरुद्ध खुबै विरोध प्रदर्शन गर्ने गर्थे । प्रहरी दमन व्यापक हुन्थ्यो ।
आज जस्तै त्यतिबेला पनि शासकविरुद्ध बोल्नेहरुमाथि राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइन्थ्यो । तर, विद्यार्थीहरु चुप लागेर बसेनन् । जस्तोसुकै दमनको सामना गर्दै गोली खान तयार हुन्थे । आखिर पञ्चायती निरंकुश शासकहरुलाई ०४६ सालको आन्दोलनले झुकाएरै छाड्यो । अन्ततः देशमा राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा गर्न राजा वीरेन्द्र बाध्य भए ।
२०६२÷६३ को माओवादी ‘जनयुद्ध’को अन्त्यतिर पनि देशमा यस्तै उकुसमुकुस वातावरण थियो । युवा, विद्यार्थीले राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध यस्तै गरी ठाउँ ठाउँमा हुटिङ गर्थे । सडकमा छापामार शैलीमा आन्दोलन गर्थे ।
त्यतिबेला पनि धेरै युवा विद्यार्थी पक्राउ परेका थिए । कति जेल कोचिए, कतिमाथि राजकाज मुद्दा लगाइयो । राजनीतिक दलका नेताहरु घरबाट निस्कन मुस्किल भएको बेला युवा विद्यार्थीले बागबजार, रत्नपार्कमा जुलुस गर्थे । त्यतिमात्र होइन, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललगायतका नेताहरुको सुरक्षामा पनि तिनै युवा विद्यार्थी खटिन्थे ।
समय समयको कुरा हो, आजका युवाभन्दा हिजोका युवा बढी जोशिला र क्रान्तिकारी थिए । विद्यार्थीकालमा यिनै शेरबहादुर देउवाले भुकृटीमण्डपमा आयोजित चिनियाँ फोटो प्रदर्शनीमा माओको फोटोमा ढुंगा हानेर चर्चा कमाएका थिए । रामचन्द्र पौडेल, विपिन कोइरालाहरुको निर्देशनमा भृकुटीमण्डपमा भएको विरोध कार्यक्रममा देउवा पक्राउ परे ।
उनीसँग नवीन प्रकाशजंग शाह पनि पक्राउ परेर ९ महिना जेल परे । अहिलेका प्रधानमन्त्री ओली ०२८ सालमै झापा विद्रोहमा सामेल भएका थिए । पञ्चायती निरंकुश शासकविरुद्ध उनी ज्यान हत्केलामा राखेर युवा अवस्थामै पार्टीमा लागेका थिए । झापा काण्ड नामले चर्चित उक्त काण्डमा ओली १४ वर्ष जेल बसेका थिए ।
आज समय फेरिएको छ । राजनीतिक वातावरण फेरिएको छ । सूचना र प्रविधिको विकासले विश्वमै क्रान्ति ल्याएको छ । ज्ञान र चेतनाको हिसाबले पनि हिजोका युवा, विद्यार्थीभन्दा आजका युवा विद्यार्थी फरक छन् ।
युवाले नेताहरुलाई ‘सच्चिने’ कि ‘सक्किने’ भनेर प्रश्न गरेको धेरै वर्ष बितिसक्यो । तर, अझै नेताहरुको सच्चिने छाँट छैन भन्ने टुँडिखेलमा युवामाथि गरेको व्यवहारले प्रष्ट पारेको छ ।
सामाजिक सञ्जाल ‘जनमत’को माध्यम बनेको छ । हरेक दिन हरेक क्षण आम नागरिकले सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति जाहेर गरेका छन् । यी सबै कुरा हेर्दा देशभरि एक प्रकारको असन्तोष छ, आक्रोश छ । जुनसुकै क्षेत्रका नागरिकमा एक प्रकारको विद्रोह उत्पन्न भइरहेको छ । त्यो विद्रोह कतिबेला विस्फोट हुन्छ भन्न सकिने अवस्था छैन ।
नेताहरुलाई ‘सच्चिने’ कि ‘सक्किने’ भनेर युवाहरुले प्रश्न गरेको पनि धेरै वर्ष बितिसक्यो । नेताहरु अझै सच्चिने छाँट छैन भन्ने कुरा उनीहरुले टुँडिखेलमा युवाहरुमाथि गरेको व्यवहारले प्रष्ट पारेको छ । युवाहरुलाई थुनेर देउवा र ओलीले पञ्चायतमा जस्तै प्रवृत्ति देखाएका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने युवाहरुलाई मुद्दा लगाएका छन् । तर, जति जनालाई थुने पनि, जति जनामाथि मुद्दा लगाएपनि युवाहरुको आक्रोश रोकिनेवाला छैन । भुसको आगोझैँ दन्किएको आक्रोश सतहमा आउँदा को को नेता त्यसको प्रहारमा पर्ने हुन्, अहिलेदेखि सचेत हुन आवश्यक छ । नत्र रामराम भन्न सकिएला, काँध थाप्न सकिन्न ।