काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीलाई लिएर मुख्यमन्त्रीले आज सरकार विस्तार गरेका हुन् ।
कांग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा सरकारमा गएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।
त्यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।
कोशीमा शेखर कोइराला समूह सहभागी भएको छैन । दुई मन्त्रालय मागेको शेखर समूहलाई संस्थापन पक्षले संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएपछि शेखर समूह सरकारमा गएन ।
नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयता शपथ ग्रहण गरिसकेका छन् । उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए । योसँगै कोशीमा २ राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।