काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा सभामुख र राजनीतिक दलहरू बीच छलफल छ । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सत्तारुढ तथा प्रतिपक्षी दलहरुको बैठक बसिरहेको हो ।
जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक÷सचेतकहरू उपस्थित छन् ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुखले अध्ययन गर्न संसद सचिवालयलाई भनेका थिए ।
सभामुखले भदौ २६ गतेको बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद अवरोध गरेको थियो ।
माओवादीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको छ । उसले उक्त शब्द संसदबाट नहटाइएसम्म संसद चल्न नदिने बताएपछि सभामुखले राष्ट्रिय दलहरुको बैठक बोलाएका हुन् ।