काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादसम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ ।
गैरआवासीय नेपाली संघको आधिकारिक पक्ष आफू भएको दाबी गर्दै राजेन्द्रकुमार (आरके) शर्मा पक्षले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको हो ।
शर्मा पक्षले आफू आधिकारिक भएको भन्दै यही भदौ २६ गते रिट दर्ता गराएको थियो । उक्त रिटको पेसी यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएकामा ‘हेर्न नमिल्ने’ भएर स्थगित भएको थियो ।
एनआरएनएको विवादमा सर्वोच्चले यसअघि दुई फैसला गरिसकेको छ । एउटा फैसलामा दुई कार्यकालअघिको कार्यसमितिमार्फत पूर्वअध्यक्षहरूको समितिबाट अर्को निर्वाचन गराएर वैधानिक कार्यसमिति ल्याउन भनिएको थियो ।
दोस्रो फैसलामा वर्तमान दुई कार्यसमितिमध्ये निर्वाचित भएर आएको भन्दै बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलिदिएको थियो ।
उक्त फैसलाले आफूलाई मर्का परेको भन्दै आरके पक्षले अर्को रिट दायर गरेको हो । शर्मा पक्षले सर्वोच्चको पछिल्लो फैसलाले वैधानिक प्रश्न उठाएको उल्लेख गरेको छ ।