संयुक्त राष्ट्र संघको ७९औँ महासभा यसको मुख्यालय न्युयोर्कमा सुरु भइसकेको छ । ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ सुरु भएको यो महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो टोलीका साथ अमेरिका आउँदै छन् । असोज ५ गते नेपाल छोड्ने उनको टोली नेपाल पुग्दा असोज १५ गते भइसक्ने छ । यसरी हेर्दा उनको यो भ्रमण ११ दिने हुनेछ ।
राष्ट्र संघ महासभाको वार्षिक साधारणसभा एक किसिमको जम्बोरीजस्तै हो । ग्रेगरियन पात्रोअनुसार हरेक वर्षको सेप्टेम्बर–अक्टोबर महिनामा आयोजना गरिने साधारणसभा राष्ट्र संघको साधारण सदस्य रहेका देशका सरकार वा राष्ट्र प्रमुखका लागि सरकारी पैसामा अमेरिकामा श्रीमती वा श्रीमानसहित विदा मनाउने एक किसिमको वार्षिकी अवसर हो ।
यही छेको पारेर अमेरिकामा रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरूसँग भेटघाट गर्ने, खानपान गर्ने र केही गप्फाजी दिने अतिरिक्त काम पनि हुनेछ । अमेरिकी सुरक्षासहितको फाइबस्टार बसाइ, रसरङ, किनमेल, साइडलाइन बैठकका नाममा अरू देशका नेताहरूसँगका चिया÷कफी गफ यस क्रममा हुने अतिरिक्त बसिबियालो हुन् ।
राष्ट्र संघको महासभामा सहभागी हुन आउने राष्ट्र वा सरकार प्रमुख र उनका श्रीमती वा श्रीमानलाई अमेरिकी राष्ट्रपति र प्रथम महिलाले रात्रिभोज दिन्छन् । रात्रिभोजमा सहभागी हुन आउँदा उनीहरूलाई अमेरिकी राष्ट्रपति र प्रथम महिलासँग हात मिलाउने र तस्बिर खिच्ने एक दूर्लभ फोटो–अप (फोटो अपरच्युनिटी) प्राप्त हुन्छ ।
त्यो फोटो–अपको सदुपयोग गर्दै अमेरिकी राष्ट्रपति र प्रथम महिलासँग आफू र आफ्नो श्रीमान् वा श्रीमतीसँग खिचाएको तस्बिर आआफ्नो बैठक कोठामा सजाउने लोभ हरेक देशका सरकार वा राष्ट्रप्रमुखलाई हुन्छ ।
महासभामा सहभागी हुने राष्ट्रप्रमुख वा सरकार प्रमुखले महासभाको विशेष सत्रलाई सम्बोधन गर्छन् । उनीहरूको लिखित सम्बोधन आफ्ना परराष्ट्र सल्लाहकार वा परराष्ट्र मन्त्रालयका अधिकारीले तयार गरेका हुन्छन् । उनीहरूले महासभाको रोष्ट्रममा उभिएर त्यही भाषण पढ्ने हो ।
केही देशका राष्ट्र वा सरकार प्रमुखसँग आफ्नो देशसँग सम्बन्धित सुनाउनलायक समस्या वा उपलब्धि पनि हुन्छन् र ती विषयहरूले महत्त्व र चर्चा पनि पाउँछन् । तर, धेरैजसो सरकार वा राष्ट्रप्रमुखसँग सुनाउनलायक त्यस्ता केही विषय नै हुँदैनन् ।
प्रधानमन्त्री ओली चारपटक प्रधानमन्त्री भैसकेका छन् । त्यही क्रममा यसअघि उनले सन् २०१५ र २०१६मा पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरिसकेका छन् । त्यसैले ओलीका लागि यो नौलो हैन ।
सन् २०१६ मा त यही अवसर पारेर सरकारी पैसामा महँगो भ्रमण गर्दै दक्षिण अमेरिकी देश कोस्टारिका पुगेर तेस्रो मानार्थ विद्यावारिधि पनि लिन भ्याएका थिए । ओली सरकारी सौजन्यमा अनेकखाले हर्कत गर्न माहिर छन् ।
ओलीका यसअघिका दुवै सहभागिता आयाराम गयाराम र सम्बोधन कर्मकाण्डी मात्रै थिए । उनको सम्बोधनले नेपालका मिडियामा हेडलाइन बनाए पनि कुनै अन्तर्राष्ट्रिय मिडियाका कुनामा पनि ठाउँ पाएको थिएन । यद्यपि, केही मिडियाले कोस्टारिकामा मानार्थ विद्यावारिधि बटुल्न गएको विषय अनावश्यक भनेर टिप्पणी गरेका थिए ।
यसपटकको महासभाको साधारणसभा पनि ओलीको लागि एक कर्मकाण्डी सहभागिता नै हुनेछ । यद्यपि, यसपटक उनीसँग १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको एक सुनाउनलायक समाचार हुनेछ । वर्षौसम्म यो विधेयकमा हलो अड्काएका ओलीले केही दिन अघिमात्र यो विधेयक पारित गराएर आफ्ना लागि एक ‘टकिङ पोइन्ट’ बनाएका थिए ।
सम्भवतः महासभामा उनले यही टकिङ पोइन्टलाई उपलव्धीका रूपमा सुनाउने छन् । राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाइएका सुरक्षाकर्मी र उनीहरूको योगदान नेपालले महासभामा सुनाउने एक सदाबहार विषय हो । यसपटक पनि ओलीले त्यो दोहो¥याउने छन् ।
ओलीको टकिङ पोइन्टको सूचीमा दिगो विकास पनि रहेजस्तो देखिन्छ । सम्भवतः उनले दिगो विकासको लक्ष्य हासिलमा नेपाल प्रतिबद्ध रहेको र धेरै उपलब्धि हासिल भएको दाबी गर्नेछन् । तर, राजनीतिक अस्थिरताले सामान्य विकासको पाइलासमेत चाल्न नसकिरहेको नेपालले दिगो विकासमा प्रगति गरिरहेको कुरा आफैँमा एक गप्फाजी मात्र हो । त्यसमा पनि राष्ट्रिय रूपमा मात्र हैन, अन्तर्राष्ट्रिय रूपमै एक गफाडी नेताको छवि बनाएका ओलीको कुरा अन्तर्राष्ट्रिय जगतले पत्याइहाल्ला भन्ने छैन ।
यस अतिरिक्त ओलीले ‘समिट अफ द फ्युचर २०२४’ लाई पनि सम्बोधन गर्ने विषयलाई पनि बढाइचढाइ गरेर ‘लार्जर देन द इमेज’ बनाउने कोशिस गरेका छन् । तर, नेपालको पछिल्लो अन्तर्राष्ट्रिय छवि भविष्य नभएको देशका रूपमा बनेको छ र त्यस्तो देश बनाउन अहम् योगदान गर्ने तीन नेतामध्ये ओलीको नाम शीर्षस्थानमा छ ।
यसरी देशको भविष्य चौपट्ट पार्ने एक नेताले विश्वको भविष्यको चिन्ता गर्ने सम्मेलनलाई सम्बोधन गरेर अर्ती उपदेश दिनु एक किसिमको भद्दा मजाक मात्र हुनेछ । अन्तर्राष्ट्रिय जगत् यस्तो मजाक सुनेर कोही हाँस्नेवाला छैन ।
उनले यसपटक न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्भर्ड विश्वविद्यालय भ्रमण गर्ने र त्यहाँ अध्यापनरत र अध्ययनरत नेपालीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
यी दुवै कार्यक्रम ती विश्वविद्यालयले औपचारिक रूपमा आयोजना गर्ने कार्यक्रम हैनन् । तर, ओलीमेनियाहरूले ‘कोलम्बिया र हार्भर्डमा सम्बोधन गर्ने पहिलो नेपाली प्रधानमन्त्री ओली’ भनेर मिडिया शीर्षक बाँडिसकेका छन् । नेपालका प्रधानमन्त्रीहरूले कोलम्बिया र हार्भर्डमा प्रवचन दिनु स्वागतयोग्य कुरा हो तर नभएको स्केलको कार्यक्रमको भ्रम बाँडनु एक किसिमको गोयबल्स दुस्प्रयन्त हो ।
ओलीको १० दिने अमेरिका बसाइ सुरु हुन अघि नै यहाँ एमालेको शुभेच्छुक संस्था प्रवासी नेपाली मञ्चका नेता कार्यकर्ताहरूको चुरीफुरी बढेको छ । सम्भवतः ओली उनीहरूले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।
यस्ता कार्यक्रमहरूमा नेपालमा एउटै सत्ताको जुवामा नारिएका एमाले र कांग्रेसका नेता कार्यकर्ताहरू भने एउटै मेलोमा नारिन्छन् वा फरक फरक मेलोमा, त्यो भने समयकै ऐनामा हेर्नुपर्ने हुन्छ । तर, एउटा सत्य के हो भने ओलीको यो भ्रमण अमेरिकामा रहेका सबै नेपालीका लागि पहुँच र महत्वका हिसाबले उस्तै भ्रमण हुनेवाला छैन ।
यो भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीलाई साइडलाइन वार्तामा भेट्ने ओली धोको छ। पछिल्लोपटक प्रधानमन्त्री भरसकेपछि दुई–दुई पटक मोदीलाई नेपाल भ्रमणको निम्ता दिइसकेका ओलीले भारतको भ्रमणको निम्ता त के, त्यसको गन्ध पनि सुँघ्न पाएका छैनन् । प्रधानमन्त्री भएलगत्तै नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको निम्ता पाउँने चलनको क्रमभंग भएर अनिष्ट हुने हो कि भन्ने चिन्ताले ओलीको बेचैनी बढाएको छ ।
उनले न्युयोर्कमा मोदीसँग साइडलाइन वार्ता गर्न गरेको प्रयासले अहिलेसम्म पनि कुनै रङ ल्याएको छैन । केही समयअघि भारतमा उपचारका लागि जान लागेकी परराष्ट्रमन्त्री आरजु देउवाको लागि औपचारिक भ्रमणको निम्ता बनाइदिएर हैदराभवनमै मोदीले भेट दिएका थिए । विदेशी राष्ट्र वा सरकार प्रमुखसँग मात्र भेटघाट गर्ने हैदराभवनको यो भेट आफैँमा अरू केही संकेत हुनसक्छ । त्यसैले पनि वाचाल ओलीको बेचैनी बढेको हो ।
अमेरिकी कोणबाट हेर्दा भने ओली अमेरिकासँग अप्रत्यक्ष रूपमा जोडिएको भुटानी शरणार्थी प्रकरणमा साइनो गाँसिएका एक सन्दिग्ध पात्र हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ल्याउने अर्थमा यो साइनो गाँसिएको हो ।
ओली प्रधानमन्त्री भएकै बेला उनका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनका सल्लाहकारले सुरु गरेको यो गोरखधन्दा हो । ओलीकै क्याबिनेटमा यो धन्दाको फाइल पुगेको थियो । र त्यसमा केही निर्णय पनि भएको थियो । यति मात्र हैन, यो गोरखधन्दाको उद्गमस्थल ओलीको घर र निर्वाचन क्षेत्र रहेको झापाको दमक हो । अहिले पनि ओलीको एमाले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी यही मुद्दाका क्रममा जेलमा छन् ।
प्रश्न ओलीको मात्र हैन, यो गोरखधन्दामा संलग्न भएको भनेर अभियुक्तहरूले नाम नै लिएकी आरजु राणा ओलीको क्याबिनेटमा परराष्ट्रमन्त्री छन् । उनी पनि ओलीसँगै महासभामा सहभागी हुन आउँदैछिन् । प्रतिपक्षी दलका नेता तथा अन्य नेताले भुटानी शरणार्थी प्रकरणमा जोगिनकै लागि एमाले–कांग्रेस गठबन्धन बनेको आरोप लगाएका छन् ।
प्रश्न उनीहरूको मात्र हैन, आम नेपाली जनमानसमा पनि यही नै कांग्रेस–एमाले गठबन्धनको चुरो कुरो हो भन्ने आशंका छ । संसदका दुई ठूला दलबीच भएको यो एक किसिमको असंसदीय गठबन्धनका लागि आरजुको निर्णायक भूमिका रहेको एक ‘ओपन सिक्रेट’ हो । ओली र आरजुले अमेरिकाको भुइँ टेक्दा अमेरिकाले भने त्यस कोणबाट पनि सम्झिरहेको हुन सक्छ ।
ओलीका लागि यो न्युयोर्क भ्रमण ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ जस्तै हो । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा खासै परिणाम नल्याउने एक लिखित भाषण पढ्नु पशुपतिको जात्रा हो । सरकारी प्रायोजनमा आफू, श्रीमती र किचेन क्याविनेटका सदस्यसहित अमेरिकामा छुट्टी मनाउनु सिद्राको व्यापार हो । तामझाम र स्युडो इभेन्टका लागि विशारद् हासिल ओलीले यस क्रममा केही थप फरक समाचार शीर्षक पनि बनाउने नै छन् । त्यसलाई एक किसिमको ओली–बोनस भने हुन्छ ।