बंगलादेशको घटनाले प्रधानमन्त्री केपी शर्मा ओली कतिसम्म त्रसित छन् भन्ने कुरा टुँडिखेलमा नाराबाजी गर्ने दुई युवामाथि सार्वजनिक अपराधको आरोपमा मुद्दा चलाएबाटै स्पष्ट हुन्छ । त्यो सँगसँगै टुँडिखेलको भिडियो शेयर गर्ने अर्का युवालाई पनि साइबर अपराधको आरोपमा मुद्दा चलाएर सरकारले आफ्नो त्रसित मानसिकता उजागर गरेको छ ।
अहिलेको जमानामा सामाजिक सञ्जाललाई जिस्क्याउनु भनेको अरिंगालको गोलामा छुनुजस्तो हो । सामाजिक सञ्जाल अहिले जनमत निर्माण गर्ने सशक्त माध्यम बनेको छ ।
विश्वका राष्ट्र प्रमुखदेखि सामान्य नागरिकहरूले समेत आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सम्प्रेषण गर्छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकै कारण अथवा फेसबुकबाट सरकारको आलोचना गरेकै कारण जो कोहीलाई पनि साइबर कानुन अथवा राज्यविरुद्धको अभियोग लगाउने हो भने त्यही कामबाट सरकारको पतन सुरु हुन्छ ।
सामाजिक सञ्जाल भनेको आगोको झिल्को हो । त्यसबाट बच्न आफूले गल्ती गर्न हुँदैन । आफूले गल्ती पनि गर्ने अनि, सामाजिक सञ्जालमा विरोध ग¥यो भनेर थुन्ने काम अलोकतान्त्रिक र अभिव्यक्ति स्वतन्त्रताको हनन पनि हो ।
बंगलादेशको जस्तो घटना नेपालमा दोहोरिन्छ कि दोहोरिँदैन त्यो भन्न सकिन्न । तर, नागरिक आवाजलाई दबाउन सरकारले जे गर्दैछ, पक्कै पनि त्यो ठिक तरिका होइन । दमनले विस्फोट निम्त्याउँछ भन्ने कुराको त हाम्रा नेताहरू भुक्तभोगी छन् ।
यदि, दमनले समाधान दिँदो हो त नेपालमा अहिलेसम्म निरंकुश पञ्चायती तानासाही व्यवस्था नै कायम हुन्थ्यो होला । विरोधको स्वर दबाउन पञ्चायती शासकहरूले के कसर बाँकी राखेनन् ? स्वयं प्रधानमन्त्री ओली १४ वर्ष जेल जीवन बिताउनुपर्याे । सुखानीका जंगलमा ओलीका सहकर्मीहरूको हत्या गरियो । पटकपटक शेरबहादुर देउवा जेल जानुपर्यो । त्यसैले लोकतन्त्रमा दमन समाधान होइन, शासकले आफूलाई सुधार्नु नै त्यसको समाधान हो भन्ने कुरा जिम्मेवार नेताहरूले बुझ्नुपर्छ ।
नेपालको राजनीतिमा हरेक १० वर्षमा आन्दोलनको हावा, हुरी चल्ने गरेको छ । अहिले चलेको हावाहुरी व्यवस्थाविरुद्ध होइन, भ्रष्टाचार, अनियमितता र विकृति, विसंगतिविरुद्ध हो । के कांग्रेस, के कम्युनिष्ट सबै पार्टीभित्र यी मुद्दाले प्राथमिकता पाएको छ । नागरिक समाज त भित्रभित्रै उकुसमुकुस भएकै छ । लाखौं युवामध्ये केहीले बोल्ने आँट गरेका छन् ।
गरिब, बेरोजगार, अन्याय, अत्याचार र भ्रष्टाचारले निम्त्याउने भनेको विद्रोह नै हो । इतिहासको कालखण्डमा जनविद्रोह धेरैपटक धेरै देशमा भएका छन्, मात्र कारण फरक होला । बंगलादेश वा श्रीलंकाकै अवस्था त नआउला तर वातावरण भने त्यस्तै बन्दै गएको जस्तो छ ।
नबोल्ने युवा पनि आन्दोलित मनस्थितिमा छन् । अहिलेको राजनीतिक वातावरण एक प्रकारको असन्तुष्टिले भरिएको छ । २००७ सालदेखि अहिलेसम्मको राजनीतिक परिवर्तनले देशको मुहार फेर्न नसकेकोमा आम जनता दुःखी मात्र छैनन्, नेताहरूकै भ्रष्ट चरित्रका कारण देश बरबाद भएको ठहर उनीहरूको छ । त्यसैले यस पटकको जनआन्दोलन उर्लियो भने त्यसको निशाना भ्रष्ट नेताहरू नै पर्ने देखिन्छ । त्यसतर्फ सचेत बन्नै पर्छ ।
वर्षमा एकपटक नेपाली कांग्रेसले बिपी कोइरालालाई सम्झन्छ, अरु दिन बिर्सन्छ । ठिक त्यस्तै वर्षमा एकपटक कम्युनिष्ट नेताहरूले पुष्पलाल, मदन भण्डारीलाई सम्झन्छ, त्यसपछि बिर्सन्छ ।
साँच्चै ती महान् नेताहरूको आदर्शप्रति हाम्रा नेताहरू इमानदार भइदिएको भए, देश बरबाद हुने थिएन । ती महान् नेताहरूको विचारलाई पछ्याएर अगाडि बढेको भए दुई दशक अगाडि नै देश समाजवादमा प्रवेश गरिसक्ने थियो ।
ती महान् नेताहरू आफ्नो लागि नभई देश र जनताका लागि राजनीतिमा होमिएकाले तिनीहरूबाट देश र जनताले ठूलो आशा राखेका थिए । त्यसैले बिपी र पुष्पलाल मरेर पनि महान् छन्, तिनका उत्तराधिकारीहरू बाँचेर पनि मरेतुल्य छन् । तर, यो कुरा मनन गर्न हाम्रा नेताहरू तयार छैनन् ।
पटक–पटक सत्तामा पुगेका कांग्रेस र कम्युनिष्टहरु देश विकासमा कहाँ चुके र देश बरबादीको बाटोमा लाग्यो भन्ने कुराको समीक्षा गर्ने बेला आएको छ । राजनीतिक दलका नेताको चरित्र नसुध्रिँदासम्म देश विकासले गति समात्न सक्दैन ।
गरिब, बेरोजगार, अन्याय, अत्याचार र भ्रष्टाचारले निम्त्याउने भनेको विद्रोह नै हो । इतिहासको कालखण्डमा जनविद्रोह धेरैपटक धेरै देशमा भएका छन्, मात्र कारण फरक होला । बंगलादेश वा श्रीलंकाकै अवस्था त नआउला तर वातावरण भने त्यस्तै बन्दै गएको जस्तो छ । त्यसको विस्फोट कहिले र कुन रुपमा हुन्छ भन्ने मात्रै हो ।