Logo
Logo

संविधान कार्यान्वयनमार्फत जनताको अवस्था बदलौँ : प्रचण्ड


252
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताए ।

सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्दै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको बताए ।

’सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो,’ उनको भनाइ छ ।

संविधानको थप सुदृढीकरणकका लागि आफ्नो पार्टीले निरन्तर अभियानात्मक कार्यक्रमअघि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यस अभियानमा सहभागी हुन आमजनसमुदायमा अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्