Logo
Logo

दरबारमार्गको कन्सर्टमा ४५ सय सुरक्षाकर्मी परिचालन


1.5k
Shares

काठमाडौं । आज साझ दरबारमार्गमा हुने कन्सर्टमा चार हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने ‘नेशनल डे कन्सर्ट’ नाम दिइएको कन्सर्टमा नेपाल प्रहरीका २५ सय र सशस्त्रका २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।

उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदैछन् । प्रधानमन्त्री उपस्थित हुने कन्सर्टमा काठमाडौं महानगर प्रमुख बालेन शाहका समर्थक र संविधान विरोधी समूहले नाराबाजी तथा विरोध गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली साँझ ६ बजेर ३० मिनेटमा दरबारमार्ग पुग्नेछन् । कन्सर्टको सुरक्षा कमान्ड काठमाडौंका एसएसपी वसन्त रजौरेले गर्ने भएका छन् भने सशस्त्रबाट पशुपतिनाथ बाहिनीका बाहिनी पति डीआईजी किशोर प्रधानले गर्नेछन् ।

कन्सर्ट स्थलमा विरोध गर्न सक्ने समूहबारे प्रहरीले सूचना सङ्कलन गरिरहेको छ । सूचना सङ्कलनमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

कन्सर्टमा आउने हरेक मान्छेलाई सुरक्षा दिनेगरी ब्यवस्थापन मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । कसैले कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे नियन्त्रणमा लिएर कारबाही गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्