Logo
Logo

यी हुन् सुन तस्करी हुने प्रमुख नाकाहरु

सुन तस्करीमा राजनीतिक ‘कनेक्सन’


1.8k
Shares

काठमाडौं । पञ्चायतकालदेखि हालसम्म सार्वजनिक भएका तस्करीका घटनाहरू केलाउँदा नेपालमा सुन तस्करी हुने मुलुक हङकङ, चीन र यूएईको दुबई देखिन्छन् । हङकङ र दुबईबाट हवाईमार्गबाट सुन भित्रिन्छ भने चीनबाट स्थलमार्गबाट । हङकङबाट भित्रिने अवैध सुन कहिलकाहीं चीन छिराएर स्थलमार्गबाट पनि ल्याउने गरिएको छ ।

चीनबाट नेपाल हुँदै भारततर्फ लगिने स्थलमार्गको रूट भने अदलबदल भइरहन्छ । सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङनाका अवैध रूपमा सुन भित्राउने चल्तीका रूट हुन् । गोरखा, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोला दोलखाको लामाबगरपनि अवैध सुन ओसारपसारमा प्रयोग भएको पाइन्छ । एकतिर सुरक्षा निगरानी बढाइनासाथ तस्करहरू अर्को नाकातिर सोझिने गर्छन् ।

यसरी हवाई र स्थलमार्गबाट नेपाल ल्याइएको सुन भारतमा भने स्थलमार्गबाट पु¥याइने गरेको छ । कहिलेकाहीँ आन्तरिक उडानबाट पनि सीमावर्ती क्षेत्रमा सुन पु¥याइन्छ । दुई वर्ष अघि अर्थात २०७९ पुसमा दुबईबाट सुडानी नागरिकले ल्याएको सुन काठमाडौंदेखि विराटनगर जहाजबाट पनि ओसारपसार गरिएको खुलेको थियो । सुनौली, जोगबनी, काँकडभिट्टा, रक्सौल नाकाबाट भारत पठाएका कैयन उदाहरणहरु छन् । चल्तीका नाकामा कडाइ भए पनि खुला सीमा भएका कारण सुन सहजै भारत लगिन्छ ।

सुन खपत बढी हुने विवाह, चाडबाडको याममा भने नेपालमै पनि अवैध सुनको केही हिस्सा खपत हुन्छ । तस्करी भएर भित्रिएको सुनको नेपाल खपत मुलुक नभई ट्रान्जिट मात्र हो, यदाकदा बाहेक। तर, सुन तस्करीमा नेपालीहरूको समेत संलग्नता हुने गरेको छ । तस्करीको सुनमा भारतीय, नेपाली सुन व्यापारीहरू नै संलग्न हुने गरेको तथ्य बारम्बार उजागर हुँदै आएका छन् ।

२०७१ सालदेखि सुन तस्करी संगठित तवरमा हुने गरेको भन्दै प्रहरीले संगठित अपराध निवारण ऐन अनुसार अनुसन्धान गर्न थाल्यो । संगठित अपराधको कसूरमा अभियोजन भए सम्पत्ति रोक्का हुने, सम्पत्ति शुद्धीकरणमा छुट्टै मुद्दा चल्ने गर्छ । जसले गर्दा कसूर ठहर भएको अवस्थामा कारबाहीको घनत्व बढी भएकाले सुन तस्करी निरुत्साहित हुने अपेक्षा थियो । यो घट्नुका सट्टा पछिल्लो पटक त चिनियाँ नागरिक समेत यो गिरोहमा सामेल भएको देखिएको छ ।

विभिन्न मुलुकका व्यापारी नै यो अवैध काममा आकर्षित हुनुको कारण यसमा हुने उच्च मुनाफा पनि हो । यस्तो मुनाफाको मात्रा पनि बढिरहेको दावी छ । अन्य व्यवसाय र औद्योगिक लगानीबाट आम्दानी गर्न हम्मे परिरहेका वेला अवैध सुनमा गरिने लगानीबाट एक वर्षभित्रै शतप्रतिशत प्रतिफल पाउने भएपछि व्यवसायी त्यतै आकर्षित हुने गरेका छन् ।

सुन कारोबारसँग परिचित एक व्यवसायीका अनुसार २०५० को दशकमा उपलब्ध झिटीगुन्टा सुविधा अन्तर्गत भारतीय बजारमा अवैध सुन पु¥याउँदा बढीमा एक प्रतिशतसम्म नाफा हुन्थ्यो । अहिले त्यो दर १५ प्रतिशतसम्म पुगेको छ । एक किलो सुन भारतमा पुर्याउँदा भरियाले मात्रै ५ लाख सम्म कमिशन पाउने गरेका छन् ।

नगद हुण्डीमा, व्यवस्थापन क्यासिनोमा

सुन तस्करीमार्फत आएको रकम हुन्डी र क्रिप्टोमार्फत क्यासिनोमा व्यवस्थापन गरी हङकङ पठाउने गरिएको छ । नेपालमा चिनियाँ नागरिकहरुले सञ्चालन गरेको क्यासिनो मार्फत व्यवस्थापन गर्ने गरेको खुलेको हो ।

त्यसको मुख्य नाइके वाल्डो क्यासिनोका निर्देशक टेरेन्स सीएसई हुन । चिनियाँ नागरिकहरूको खानपान र मनोरञ्जन गर्ने मुख्य स्थल नै वाल्डो क्यासिनो भएकाले तस्करीको रकम पनि त्यहीबाट हुण्डी मार्फत व्यवस्थापन हुने गरेको थियो ।

सुन तस्करीका अभियुक्त एलेक्स भन्ने याउ पुचङ मनोरञ्जनका लागि नियमित रूपमा क्यासिनोमा आउने गरेकाले टेरेन्ससँग चिनजान भएको तथ्य खुलेको छ । प्रतिवादी एलेक्स भन्ने याउ पुचङले ५२ हजार अमेरिकी डलर वाल्डो क्यासिनोमार्फत विदेशमा पठाएको भन्ने सह–प्रतिवादी शिवकुमार सर्राफले उल्लेख गरेका थिए ।

टेरेन्सले आफू वाल्डो क्यासिनोको मालिक नभए पनि डाइरेक्टर भएको बताउदै उनले नै व्यवस्थापकीय जिम्मेवारीका लिएका थिए । वाल्डो क्यासिनोमा गैरकानूनी रूपमा अनलाइन जुवा खेल समेत हुने गरेको र रकम जम्मा गर्ने माध्यम बनेको थियो । सुनको अवैध पैठारीका लागि पनि वाल्डोलाई उपयोग गरिएको थियो ।

वाल्डो क्यासिनोमा रकम जम्मा गर्नेमा खासगरी चिनियाँ मूलका व्यक्तिहरूको रकम पठाउने कार्यमा क्रिप्टो र हुन्डीसमेतका कारोबारीको आशंकाजन्य अवस्था देखिएको प्रहरीले जनाएको छ । दावाजिन वाङ र दावा छिरिङ समेत चिनियाँ मूलका व्यक्तिहरूले पटक–पटक ल्याएको (केहीपटक त बोरामा) रकम वाल्डो क्यासिनोमा जम्मा गराई पछि लैजाने गरेको थिए ।

आयोगले अध्यागमनमार्फत टेरेन्सको यात्रा विवरण समेत जाँच गरेको थियो । टेरेन्स एक वर्षमा पटक– पटक ‘हङकङ–नेपाल’ आवातजावत गरेको फेला परेको थियो । उक्त ‘ट्राभल हिस्ट्री’ लाई आयोगले अस्वाभाविक भनेको छ ।

टेरेन्सको ट्राभल हिस्ट्री हेर्दा सन् २०२२ मार्च २५ मा पर्यटक भिसामा नेपाल आएको, दोस्रोपटक बिजनेस भिसामा सोही वर्ष नोभेम्बरमा, तेस्रोपटक सन् २०२३ को फेब्रुअरी र चौथोपटक सोही वर्ष अप्रिलमा नेपाल आएका थिए । प्रतिवादीमध्येका चिनियाँ नागरिक याओ पुचेङको क्यासिनोमा डिपोजिट रकम हेर्दा पटक–पटक गरी १३ करोड रकम बराबरको कारोबार देखिएको छ । वाल्डोमा को (आइडी नम्बर १०१८९), वाङ योङ जिआङ (आईडी नम्बर १३१०८) ले पोकर खेल अपरेट गर्ने गरेको थिए । जसमा जिआङले प्रतिवादी याओ पुचेङबाट एक करोड नगद बुझेर लगेको प्रहरीले जनाएको छ ।

वाल्डोको आन्तरिक रेकर्ड (सेभिङ रेकर्ड) मा आईडी नम्बर १५४२५ बाट सन् २०२३ फ्रेबुअरी २७ तारिख राति ९ बजेर ४० मिनेटको समयमा आइडी नम्बर १३१०८ मा ८० लाख रुपैयाँ ट्रान्सफर थियो । त्यस्तै, वाल्डो क्यासिनोको आइडी नम्बर १३१०८ र १५४२५ दुवैको ‘अफिसियल स्टेटमेन्ट’ मा सन् २०२३ फेब्रुअरी २६ तारेखपश्चात उनीहरूबीच कुनै पनि कारोबार भएको देखिँदैन ।

चिनियाँ नागरिक कोको भन्ने हाओ सुइहोङ (राहदानी नम्बर ईसीओ ७९९४८९) ले आफ्नो क्यासिनोको आईडीनम्बर १०१८९ बाट एलेक्स भन्ने याओ पुचेङको आईडी नम्बर १५४२५ मा ४० लाख रकम पठाएको स्रोतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशनमा क्यासिनोमा जुवा खेल्न आएका ग्राहकले ५ हजार अमेरिकी डलरसम्म कारोबार गर्न सक्ने र सोभन्दा बढी रकमको हकमा बैंकमार्फत कारोबार गर्नुपर्ने उल्लेख भएता पनि प्रतिवादीहरूले त्यसो गरेका थिएनन । एलेक्सले क्यासिनोमा गएर प्राइभेट कोठामा मानिस भेट्ने र क्यासिनोलाई अवैध सुन कारोबार गर्ने स्थानको रूपमा प्रयोग गर्ने गरेका थिए ।

भुक्तानी नै अवैध

पेवेल र सजिलो पे वालेटले १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको सार्वजनिक भएको थियो । २०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पेवेलका वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रुपैयाँ बराबरको इ–मनी क्रेडिट भएको छ । तर, त्यसका लागि बैंक ट्रान्सफर नभई ६१ अर्ब ५० करोड रुपैयाँको भौचर डिपोजिटबाट भएको छ ।

यस्तै २०७८ जेठ २ गतेदेखि २०८१ जेठ २१ गतेसम्म सजिलो पेको वालेटमा ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँ बराबरको इ–मनी लोड भएकोमा १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरी ‘क्यास इन’ गरेको प्रहरीको दावी छ । प्रहरीले अनुसन्धान शुरू गरेपछि जेठ २१ गते राष्ट्र बैंकले दुवै वालेट कम्पनीको खाता रोक्का गरेको थियो ।

नेपाल राष्ट्र बैंकले हाल वालेटमार्फत दैनिक २ लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने गरी सीमा तोकेको छ । त्यसअनुसार बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा प्रतिदिन २ लाख र प्रतिमहीना १० लाख रुपैयाँको कारोबार गर्न सकिन्छ । एक वालेटबाट अर्को वालेटमा भने प्रतिदिन ५० हजार र मासिक ५ लाखको सीमा तोकिएको छ ।

सुन तस्करीमा राजनीतिक ‘कनेक्सन’

पछिल्लो पटक सुन तस्करीको अनुसन्धान हुँदा २०८० भदौ ३१ गते काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले चिनियाँ नागरिकसहित २९ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा भयो । पूर्वसभामुख कृष्णबहादुर महरासहितका नेताहरूसँग सम्बन्ध बनाएका चिनियाँ तस्करहरूको समूहले यो तस्करी गरेको प्रहरी अनुसन्धानबाट देखिएको भएपनि मुद्धामा छुटाइयो ।

यो तस्करीका ‘मास्टरमाइन्ड’ मानिएका चिनियाँ नागरिक दाओजिन वाङको नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष समेत रहेका महरासँग धेरैपटक टेलिफोन सम्पर्क भएको प्रहरीले दुई वर्ष अघि नै पत्ता लगाएको थियो । प्रहरीले महरासँग बयान लिए पनि प्रतिवादी बनाएन ।

प्रहरीले महराका छोरा राहुल र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग पनि यसबारे सोधपुछ गरेको थियो । राहुललाई थुनामा पठाएको छ । दिपेशलाई छाडेको छ । २९ जनाविरुद्ध अदालतमा मुद्दा हाले पनि प्रहरीले यो प्रकरणमा थप अनुसन्धान जारी राखेको थियो । र थप अनुसन्धानबाट थप सुन तस्करी भएको पत्ता लागेको हो ।

अहिलेसम्मको अनुसन्धानका क्रममा विभिन्न पाँचओटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ मूल्य बराबरको सुन तस्करी भएको देखिएको सिआइबीका तत्कालिन प्रमुख, अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

त्यतिबेला सिआइबीले गरेको अनुसन्धान अनुसार तस्करहरूले विद्युतीय मालवस्तुमा लुकाइछिपाई २ हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सुमा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेर ल्याएको अनुसन्धानले देखाएको छ । अनुसन्धानकै क्रममा थप २० जनालाई पक्राउ गरेको थियो । यो समूहले गरेको तस्करी झन्डै औपचारिक माध्यमबाट हुने वार्षिक सुन आयात हाराहारी देखिएको छ ।

गत आर्थिक वर्ष (आव) २०७९÷८० मा ३९ अर्ब ९३ करोड रुपैयाँको सुन औपचारिक माध्यमबाट आयात भएको राष्ट्र बैंकले बताएको छ । चालू आवको ११ महिनासम्ममा २३ अर्ब ६५ करोड रुपैयाँको सुन आयात भएको भन्सार विभागले बताएको छ । यो ११ महीनामा २ हजार ६५२ टन सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसबाट सुन तस्करीमा ठूलो मात्रामा विदेशी मुद्रा खर्च भएको स्पष्ट हुन्छ ।

प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत १ हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत १७० किलोग्राम ८ ग्राम र रेडी ट्रेड प्रालिमार्फत ७ किलोग्राम ७ ग्राम अवैध सुन नेपाल भित्रिएको थियो ।

ब्रेक सुमार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको अनुसन्धानले देखाएको छ । रेडी ट्रेड प्रालिको नाममा आएको सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।

अवैध रूपमा भित्रिएको सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईओटा पेमेन्ट गेटवेसमेत संलग्न गरेको देखिन्छ । पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको छ । सिआइबीले उक्त प्रकरणमा पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जनालाई पक्राउ समेत गरिसकिएको थियो ।

पहिलो चरणको अनुसन्धानले ब्रेक सुमा लुकाएर ३६२ किलोग्राम ७७८ ग्राम सुन ल्याएको देखाएको थियो । यसमा संलग्न २९ जनाविरुद्ध सिआइबीले २०८० भदौ ३१ गते अभियोगपत्र दायर गरिसकेको छ । उनीहरूबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो ।
सिआइबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना पुर्पक्ष थुनामा छन् । दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले ४६ जनालाई प्रतिवादी बनाएको छ । तीमध्ये २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् ।

पक्राउ पर्नेमा सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बज बलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, राजु खत्री भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् ।

सिआइबीले तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएपछि पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरजशमशेर जबरालाई पक्राउ गरेको छ ।

अवैध भुक्तानीमा संलग्न रहेको भेटिएपछि पेमेन्ट गेटवे सजिलो पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा, अथुप्छाङ खम्पा, सुशीला जाकिबन्जा तथा एजेन्टहरू लालबहादुर कुँवर र अरूणकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

सुन तस्करीका नाइके दाओजिन वाङको समूहले खडा गरेका सातओटा कम्पनीमध्ये पाँच ओटामार्फत अवैध रूपमा सुन तस्करी भएको खुलेको थियो ।

वाङको प्रमुख योजनामा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालि, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रालि, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि र रेडी ट्रेड प्रालिजस्ता डमी कम्पनी खोलिएका थिए । प्रहरीका अनुसार दुईओटा स्थानमा सुन पगाल्ने काम हुन्थ्यो । टोखामा सुन गाल्न एलेक्स भन्ने याओ पुचेङको समूहले कारखाना सञ्चालन गर्दै आएको पहिलो चरणको अनुसन्धानमा खुलेको थियो ।

लाजिम्पाटमा स्याम भन्ने झोङ जिङचुआनलगायत समूहबारे सिआईबीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनीहरूले न्यूरोडको संकटा मन्दिर र पाटनको टंगाललगायतमा टन्च हाउस तथा रिफाइनरी सञ्चालन गरेको खुलेको थियो । स्याम भन्ने व्यक्ति फरार थियो ।

सुन कहाँ जान्थ्यो भन्ने पनि ग्याप रहेको र यो अनुसन्धानबाट ती कुरा खुलाएको सिआइबीको भनाइ छ । सिआइबीका अनुसार सुन पाटन, न्युरोडको टन्च हाउस र रिफाइनरीबाट सप्लाइ हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्