Logo
Logo

एउटै नाउरको सिकार गर्न २३ लाख खर्च


378
Shares

काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ । हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ ।

फाइल फोटो

बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न २३ लाखसम्म कबोल गरिएको उनले जानकारी दिए ।

त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ । आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । सिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् ।

सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुने गरेको छ ।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ ।

वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, ‘आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छभने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ ।’

आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका छन् ।

नाउरको सङ्ख्या एक हजार २९० र झारलको संख्या ७४४

यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले निश्चित सङ्ख्यामा निर्धारण गरिन्छ । यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको छ ।

आरक्षमा दुई सिजनमा सिकार खेलाइन्छ । पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैत–वैशाखसम्म हुने गर्छ । यहाँ बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ ।

निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार साहले सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरेको बताए ।

‘यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥यायाउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न हुँदैन’, उनले भने ।

विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ ।

यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।

गत आवमा सिकारबाट चार करोड २६ लाख बढी आम्दानी

अघिल्लो आवमा यहाँ १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कुल चार करोड २६ लाख ८८ हजार ७०० राजस्व आम्दानी भएको थियो । विभागले यस वर्षको पहिलो सिजनका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।

सिकार कम्पनीहरूले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रति नाउर र झारलको सिकार गरेबाफत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् ।

आरक्षमा सिकार खोलाउने पेसेवर सिकार कम्पनीहरूमा नेपाल वाइल्डलाइफ एडभेन्चर, हिमालयन सफारिज, ट्र्याक्स एन ट्रेल्स, नेपाल वाइल्डलाइफ सफारी, ग्लोबल सफारिज नेपाल, ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेकलगायत रहेका छन् ।

हिमालयन सफारिजका सञ्चालक महेश बस्नेतले आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्ति खटाउने र आवश्यक पूर्वाधार बनाउनुपर्नेलगायत सुझाव दिए ।

कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरेको जनाइएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्