Logo
Logo

‘रविलाई बचाउन रास्वपाका नेताहरु कांग्रेस-एमालेका नेताको घरघरमा दौडिरहेका छन्’


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता प्रधानले रविको आचरण पनि खत्तम रहेको टिप्पणी गरे । उनले भने, ‘रवि लामिछानेको नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस् त क्लिन-चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ्ग भएको भन्दै अब रविका पक्षधरले वकालत गर्न जरूरी नभएको उनको भनाई छ । उनले भने, ‘अहिले वास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । अनिमात्रै छानबिन समिति बन्यो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिबेला मलाई रविको केश फासफुस होला भन्ने लागेको थियो । एमाले र माओवादीको सरकार थियो ।’

उनले रवि पक्षधर साथीहरूले अब वकालत गर्न जरुरी नभएको टिप्पणी गरे । रवि दोषी नभएको भए रास्वपाका सांसदहरुले किन बचाउनु पर्यो भनेर कांग्रेस र एमालेका नेताहरु कहाँ गएर गुहार मागेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘रवि जोगाउन र बचाउनको लागि रास्वपाका माननीयहरू हाम्रो र एमालेका नेताहरु घरघरमा दौडिरहेका छन् । बचाउन किन त ? मैले भेटे एउटा माननीय एक नेताको घरमा आएको । सहकारी ठगी प्रकरणमा रवि मुछिएकै हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब रविमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए । नले भने, ‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरु भैसक्यो । जहाँसम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ । अदालतले गर्ने हो-फैसला । आफैले क्लिनचिट भन्ने होइन । हाम्रै पार्टीका साथीहरू पनि अदालतकै कारण जेल गएका छन् । अख्तियारको बिल हामीले ल्याएका हौं । गृहमन्त्री खुमबहादुर खड्काको पालामा अख्तियार गठन भयो। पहिले जेल खुमबहादुर खड्का नै गए । त्यही हो डेमोक्रेसीको ब्युटी भनेको ।’

प्रतिक्रिया दिनुहोस्