Logo
Logo

पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


189
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएकोमा कारण देखाउ आदेश जारी भए पनि अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।

रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो । महासंघको वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निर्वाचन गराएर महासंघलाई निकास दिन रिट निवेदनमा माग गरिएको छ ।

रिट निवेदकले अब प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरी त्यसै भेलाको निर्णयबाट समितिले गरेका काम-कारबाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरेका छन् ।

महासंघको विधानअनुसार कार्यसमितिको कार्यकाल ३ वर्ष पूरा भएपछि पुनः नयाँ कार्यसमिति निर्वाचित भएर आउनुपर्नेमा अहिलेको कार्यसमितिको कार्यकाल पूरा भएको ६ महिना पुग्न लाग्दा पनि महासंघको निर्वाचन हुन सकेको छ ।

महासंघले पाँचौं पटकसम्म निर्वाचनको मिति तय गरेको भए पनि अहिलेसम्म निर्वाचन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्