Logo
Logo

भ्रष्टलाई उत्कृष्ट निजामती पुरस्कार


1k
Shares

काठमाडौं । निजामती सेवा दिवसका दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले घोषणा गरेका उत्कृष्ट कर्मचारीको सूची यसपटक पनि विवादमुक्त हुन सकेन ।

निजामती पुरस्कार वितरण गर्नका लागि घोषित सूचिमा उपसचिव सागर मिश्रको नाम उल्लेख गरिएपछि धेरैले आश्चर्य मानेका छन् । निजामती क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत दिइने उक्त पुरस्कार अख्तियार लगायतका निकायमा उजुरी परी छानबिन भइरहेका मिश्रलाई दिएपछि कर्मचारी वृत्त आश्चर्यमा परेको छ ।

उपसचिव सागर मिश्र

विगतमा निजामती पुरस्कारका लागि उत्कृष्ट सेवा गरेका कर्मचारीहरुले निवेदन दिँदै आएका थिए । तर पछिल्लो समय पुरस्कृतको सूचीमा भ्रष्टहरुकै बाहुल्यता हुन थालेपछि मन्त्रालयले निकाल्ने सूचिमा राम्रा कर्मचारीहरुले निवेदन दिनै छाडेका छन् ।

यसपटक पनि संघीय मामिला मन्त्रालयले जेठ २१ गते नै पुरस्कारका लागि इच्छुक आवेदकहरुलाई आवेदन दिन सूचना जारी गरेको थियो । सोही सूचना बमोजित हाल कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत मिश्रले पनि आवेदन दिए । उनको आवेदनलाई पुरस्कार छनोट समितिका संयोजक मुख्यसचिव एकनारायण अर्यालले अनुमोदन गरिदिएर कर्मचारी वृत्तमै चासो निम्त्याएका छन् ।

मिश्र उपसचिव हुँदा संघीयता कार्यान्वयन हुनु अगाडि नै तत्कालीन जिल्ला विकास समिति डोल्पाको स्थानीय विकास अधिकारी थिए । त्यहाँ रहँदा उनले ग्रामीण गरिबी निवारणका लागि पूर्वाधार विकास कार्यक्रमको बजेट दुरुपयोग गरेको आरोपमा स्थानीयवासीले कालोमोसो समेत लगाएर लखेटिएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत आएको बजेटमा झोलुङ्गे पुल निर्माणमा मिश्रले चरम घोटाला गरेको आरोप लागेको र सो सम्बन्धी मुद्दा अहिले पनि अख्तियारमा विचाराधीन रहेको छ । त्यसबेला जिल्ला विकास समितिलाई जिल्ला प्रशासन कार्यालयपछिको शक्तिशाली विकासे अड्डाको रुपमा मानिन्थ्यो ।

संघीयता कार्यान्वयनपछि इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रहँदा सिएफएल खरिदमा १ करोड घोटाला गरेको अभियोग लागेको र सेटिङ मिलाएर सो अभियोगलाई ढिसमिस बनाइएको आरोप छ । तत्कालीन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले भ्रष्ट मिश्रको गतिविधिप्रति असैह्य भएपछि त्यहाँबाटै सरुवा गराएका थिए ।

त्यसपछि बाणिज्य विभागमा आएका मिश्रले विभागमा रहँदा व्यवसायीहरुलाई दुःख दिने, अनावश्यक रकमको बार्गेनिङ गर्ने गरेको आरोप लागेको थियो । सोही कारण उनको सरुवा वीर अस्पतालमा भएको थियो ।

वीर अस्पतालमा कार्यरत रहँदा मेशिन, औजार लगायतका इकुमेन्ट खरिदमा हालका निर्देशक डा. सन्तोष पौडेलसँग मिलेमतो गरी चरम भ्रष्टाचार गरेको र उनले मच्चाएको भ्रष्टाचारका फाइलहरु अहिले पनि अख्तियारको छानबिनका क्रममा रहेका छन् । झापाको प्वातीबारीका मिश्र हाल गोकर्णेश्वर ५ मा ग्रिनहिल सिटी नजिकै बसोबास गर्दै आएका छन् ।

झापाकै भएका कारण उनले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएको फूर्ति लगाउने गरेको छन् । सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखाका प्रमुख सहसचिव उमेशकुमार ढकालसँग उनको निकट सम्बन्ध रहेको छ ।

आर्थिक सहयोगदेखि लिएर अन्य कोशेलीपात ढकाललाई पु¥याएर निकटता कायम गर्न सफल भएका मिश्रले निजामती पुरस्कार पाउनुमा ढकालको ठूलो योदगान रहेको छ । सहसचिव ढकालले नै मुख्यसचिव एकनारायण अर्यालसँग मिश्रलाई चिनजान गराएको र सोही चिनजानको फाइदा पुरस्कारका रुपमा उठाएको चर्चा सामान्य प्रशासन मन्त्रालयमा चल्ने गरेको छ ।

भ्रष्ट छविका मिश्रका बारेमा अख्तियार लगायत अन्य निकायमा छानविन भइरहेको र उनको विगत अत्यन्तै विवादास्पद रहेको अवस्थामा पनि पुरस्कृत हुनुले मुख्यसचिव नेतृत्वको छनोट समितिप्रति नै प्रश्न खडा भएको छ । उनी कागेश्वरीबाट सरुवा भएर उपत्यकाकै बुढानिलकण्ठ लगायत अन्य आकर्षक स्थानीय तह ताकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्