Logo
Logo

क्रिप्टोको ५० लाख प्रहरीभित्रै गुपचुप


1.3k
Shares

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्राउ परेका व्यक्तिबाट ५० लाख रुपैयाँ असुलेको विषयलाई प्रहरी भित्रभित्रै मिलाउन खोजिएको संकेत छ । एआइजी किरण बज्राचार्यले एसपी प्रजित केसीको संयोजकत्वमा बनाएको छानबिन समितिले अहिलेसम्म प्रतिवेदन नबुझाई बसेकाले पनि मिलाउन खोजेको आभाष हुन्छ ।

काठमाडौं प्रहरी परिसरले छानबिन गर्न समिति बनाएको भएपनि त्यसलाई निस्कृय बनाएर उपत्यका प्रहरी कार्यालयले बनाएको समिति सक्रिय बनाइएको थियो । तीन साता अघि भएको सो घटनाको छानबिन अझै नसकिनुमा यत्तिकै ढिसमिस पार्न खोजिएको आशंका गरिएको एक प्रहरी अधिकृतले बताए । यदि, त्यसो भएमा त्यसको असर काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त रजौरेलाई समेत पर्ने देखिएको छ । उनी मातहतकै प्रहरी कर्मचारीसमेत त्यसमा जोडिएका थिए । यो विषयमा एसएसपी रजौरे अहिलेसम्म मौन रहेका छन् ।

काठमाडौं प्रहरीको टोलीले क्यानडाबाट नेपाल फर्किएका आशिष आचार्यलाई अनामनगरबाट सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली लगेर थियो । उनीमाथि नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी कारोबार गरेको सूचना प्रहरीले पाएको थियो ।

त्यहीक्रममा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएर परिसर लगेर रकम असुल गरी छाडेको थियो । नियन्त्रणमा लिएका युवालाई शुरुमा थुनामा राखेको थियो । प्रहरीले सोधपुछका लागि आरोपीलाई २४ घण्टा थुनामा नराखी आरोपीसँग ५०लाख उठाएर छाडिएको घटनाबारे दृष्टिले गत अंकमा समाचार प्रकाशित गरेको थियो ।

५० लाख घुस दिएपछि अहिले ती युवा क्यानडा पुगिसकेका छन् । पक्राउ परेका ती युवाका दिदी अस्मिता आचार्यले भाइ नेपालमै हुँदा आफूले तिरेको ५० लाख रुपैयाँबारे प्रहरीलाई जानकारी गराउँदा भाइको क्यानडा यात्रा अनिश्चित हुने भएकाले जानकारी नदिएको बताएकी थिइन् । त्यसपछि मात्रै प्रहरीले रकम असुलेको घटनाबाहिर आएको थियो ।

तर, भाइ उडेपछि उनी आफैँ काठमाडौं प्रहरी कार्यालय पुगेर यो विषय जानकारी गराएकी थिइन् । पक्राउ परेका युवाकी दिदी अस्मिताको गुनासोपछि काठमाडौं प्रहरीले आन्तरिक छानबिन थाल्यो तर यसबाट कुनै निष्कर्ष नआउने देखेपछि उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको थियो ।

छानबिनका क्रममा पक्राउ परेका युवाका दिदीबाट प्रहरीलाई बुझाउनुपर्छ भन्दै ५० लाख रुपैयाँ लिने बिचौलिया र साइबर अपराध मुद्दा फाँटका सहायक हवल्दार गणेश खड्काको ‘कनेक्सन’ देखिएको थियो ।

प्रहरीले तिनलाई नियन्त्रणमा राखेर अनुसन्धान थालेको पनि तीन साता बित्न लागेको छ । प्रहरी अधिकारीका अनुसार, बिचौलियासमेत प्रहरीले क्रिप्टोकारोबारीको आशंकामा पक्राउ गरेका युवाका निकट साथीमात्रै होइनन्, क्यानडा बस्दाका रुम पार्टनरसमेत हुन् ।

प्रहरीलाई क्रिप्टोबारे सूचना दिनेसमेत तिनै बिचौलिया भएको खुलेको छ । प्रहरी अधिकारीका अनुसार, पक्राउ परेका युवाको दिदी अस्मिताले ५० लाख रुपैयाँ दिएको खुलेपछि त्यो रकम प्रहरीसम्म पुग्यो कि पुगेन भन्नेबारे खुलेको छैन । बिचौलियासमेत नेपाल छाडेर भागिसकेका छन् । यस्तो अवस्थामा किरण बज्राचार्यले छानबिनको रिपोर्ट सार्वजनिक नगर्नुले ५० लाख प्रहरीले ‘भाग शान्ति जय नेपाल’ गर्न खोजेको हो कि भन्ने आशंका छ ।

प्रतिक्रिया दिनुहोस्