Logo
Logo

राजनीतिमा विचार होइन्, गाली हाबी


189
Shares

नेपालको संविधान २०७२ जारी त भयो, यो सँगै दशकौंदेखि जारी राजनीतिक आन्दोलनको एउटा चरण पुरा पनि भयो । नेपाली जनताका प्रतिनिधिले आफैँ संविधान लेख्ने स्थितिसम्म आइपुग्दा भएका अनेकौँ त्याग, तपस्या, बलिदानका कुरा ऐतिहासिक तथ्य बनिसकेका छन् । अब देशमा मुलतः विकास र समृद्धिका नारा नै महत्वपूर्ण हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक मुलुक हो । यति मात्र होइन् यहाँको वैचारिक विविधता अर्को रुप हो । दशकौंदेखि जनताहरु विभिन्न विचारमा गोलवद्ध हुँदै आएका छन् । नागरिकस्तरबाट एउटा आरोप लाग्ने गरेको छ, यहाँ स्वतन्त्र नागरिक छैनन्, सबै पार्टीसँग आवद्ध कार्यकर्ता मात्र छन् ! नयाँ भन्नेहरुले, राजनीतिमा तुरुन्तका तुरुन्तै फाइदा खोज्नेहरुले भन्ने गरेको कटु सत्य पनि यहीँ हो ।

भन्न खोजेको उनीहरुले बोल्ने वाक्यमा के स्पष्ट छ भने, नेपाल वैचारिक रुपमा कुनै न कुनै राजनीति दलमा आवद्ध नागरिक भएको मुलुक हो । राजनीतिक रुपमा अर्को सवल पक्ष यो पनि हो ।

संविधान जारी हुँदासम्म विभिन्न पार्टीका, विभिन्न सिद्धान्त भएपनि अन्ततः संविधान आफै लेख्ने भन्ने नै थियो । संविधान बनाउने सिलसिलासम्म आइपुग्दा कुनै पार्टी यहाँ हर्लक्क मौलाए । संविधान सभाका दुई÷दुई निर्वाचनमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीहरुको अंक गणितले पनि देखाउँछ, यहाँ विविध विचार भएका नागरिक छन् । जसले जे भने पनि आवधिक निर्वाचनबाट चुनिएका नेतालाई अपमान गर्ने छुट कसैलाई छैन्, र हुनुहुन्न ।

संविधान सबैको साझा दस्तावेज भयो । सशस्त्र द्धन्द्ध हुँदै ऐतिहासिक जनआन्दोलन हुँदै लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट संविधान जारी हुँदासम्मको कालखण्डले लामै राजनीतिक इतिहास प्राप्त गरेको छ । यो सबैले देखेकै कुरा हो ।

अर्कोतिर केही बौद्धिक जमातलाई संविधान प्राथमिकता भएपनि नागरिक स्तरबाट संविधान भन्दा गाँस, बाँस, कपासकै चिन्ता र पिरालोको चिन्ता थियो । किनकी क्रान्तिको रापतापबाट आएको नेकपा (माओवादी) वि.सं. २०७० सम्म आइपुग्दा जनताबाट खुम्चिनु त्यसको उदाहरण हो । नागरिकले संविधान बुझेनन् । बुझेको भए ०६४ को माओवादी ०७० मा यसरी खुम्चिन सक्ने थिएन । यो बीचमा प्रचण्ड, बाबुराम भट्टराईको सत्ता जनताले देखेका थिए ।

माधव नेपालबाहेक झलनाथ खनालको सत्तामा पनि माओवादी थियो । यी दलको मुख्य एजेण्डा संविधान बनाउने भएपनि नागरिकले यसलाई भन्दा बढी प्राथमिकता गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीलाई नै दिएका थिए ।

यी कुरा नभएपछि नागरिकले नयाँ दल, नयाँ नेता खोज्दै आएका छन् । जो तत्काल क्रान्तिकारी भाषण गर्छ, जो मिडियामा असल बढी बोल्छ, त्यो नै जनताको आँखामा पर्ने र चुनाव पनि जितिहाल्ने परिस्थिति शिलशिलेबारमा आइरहेको छ ।

संविधान बनाउँदा श्रमजिवी वर्गमा उत्साह नआएकै हो । किनकि राष्ट्रले खुसीयाली मनाउँदा, दलको आह्वानमा सय÷हजार जनता सडकमा आउनू स्वभाविक हो । मिडिया जगत, बौद्धिक जगत् बाहेक अरुलाई एउटा लेखोट संविधानको खासै मतलव हुने विषय पनि थिएन् । यही संविधान बनाउन रगतको बलिदान दिइएको भनेर राजनीति दलले जति भने पनि जनताले स्विकार गरेरनन् । आम जनताले गरिबीबाट मुक्ति मात्र चाहेका थिए ।

राजाले नै हामीलाई गरिब बनाएका हुन्, अब दलले अभावबाट मुक्त गराउँछन् भन्ने आशा नागरिकस्तरमा व्यापक थियो । अहिलेका दलले पनि अभावबाट मुक्ति दिलाएनन्, अब नयाँले दिन्छन् भन्ने आशा गर्नू यसको प्रष्ट उदाहरण हो । नत्र ०७२ देखि ८१ सम्म आइपुग्दा लाखौं जनताको समर्थन पाएका यी राजनीतिक दल, यी नेता किन नागरिकको नजरमा पर्न सकेनन् त ? सोच्नुपर्ने विषय होइन र ?

राजनीतिमा हिजोआज गालीगलौज गर्नेहरु नामी बनेका छन । ०७२ मा भारतलाई गाली गरेकै कारण ओलीको हाइट ह्वात्तै बढेको हो । नयाँ भनिएकाहरु आज यही सिक्दैछन् ।

मुलुतः नेताहरु विचारबाट प्रेरित भएनन् भन्न सकिन्छ । मात्र हामी पछि पर्नुको कारण राजा नै हुन्, राणा नै हुन्, पञ्चायत नै हुन् भनेर गाली गर्न मात्र सिकाए । जसको परिणाम आज यिनैले भोग्दैछन् । ‘रोप्दा तीतेपाती रोप्ने, दालचिनीको स्वाद खोज्ने’ गर्नू नै मूर्खता हो । पार्टीहरु व्यक्तिगत स्वार्थमा लागे । पार्टी, होइन् गुट, गुट भित्र पनि व्यक्तिवाद खोज्न थालियो । दलका वैचारिक सन्देश पुर्याउने मुलतः भातृ संगठनहरु हुन् ।

यिनीहरुलाई कमजोर बनाइयो । पार्टीका महाधिवेशनमा आफू जित्नका लागि मात्र भातृ संगठन खोज्ने परिपाटी बसालियो । चारैतिरबाट वैचारिक धरातल कमजोर भयो । विचार भनेकै संविधान हो, विचार भनेकै विकास र समृद्धि हो बाहेक अर्को कुरा गरिएन । कसरी विकास ? कस्तो विकास ? के गर्नु पर्छ ? के गरिरहेका छौं ? समृद्धि के हो ? कस्तो समृद्धि ? यी विषय नागरिकसँग प्रष्ट बताइएन् । विकास र समृद्धि नेताहरुको ओठे भक्तिगान बन्यो ।

संविधान लगत्तै तात्तातै विकास र समृद्धि आउने पक्कै थिएन । बेलायतमा लिखित संविधान विना नै १९ औं शताब्दीको साम्राज्य हुन पुग्यो भने संविधान नै सबै कुरा पक्कै होइन् ।

यहाँ राजनीतिक दर्शकसहितको विचार, विचारले नेतृत्व गर्ने समृद्धि नै प्रमुख मुद्धा हुनुपर्छ । आज उपभोक्तावादको संस्कृति हावी छ । काम गर्नेलाई घृणा गरिन्छ । गनिएका देशमा जाने सबैभन्दा नामी हुन्छ । गाडी चढ्ने उस्तै । यस्तो संस्कार हुर्काउने हामी नै हौं, यी दल नै हुन् । राजनीति केवल गालीगलौजकै हो भन्ने पार्ने यी नेता नै हुन् ।

हिजो माओवादी आन्दोलनलाई गाली गरेकै भरमा केपी ओली नामी कहलिएका हुन् । हामी अखिलमा आवद्ध हुँदा केपी ओली राम्रो, किन राम्रो भन्दा माओवादीलाई चोटिलो गाली गर्छन् त्यसैको कारण भन्ने गरिन्थ्यो । हिजोआज गालीगलौज गर्नेहरु झनै नामी बनेका छन । ०७२ मा भारतलाई गाली गरेकै कारण ओलीको हाइट ह्वात्तै बढेको हो ।

आज नयाँ भनिएकाहरु यही सिक्दैछन् । सिकाउनुपर्ने विचार होइन् ? विचारले नै नेतृत्व गर्नूपर्ने होइन् ? विचार नसिकाउदा आज सुन्ने, पढ्ने, लेख्ने जमात हराउन थालेको छ । पढाई भनेकै पैसा कमाउनका लागि हो, पेशा भनेकै आफू पालिनका लागि गर्ने हो जस्तो डरलाग्दो रुप यहाँ देखिदै छ । यावत् गलत परम्परा बसाल्दा आज यो गति हुन पुगेको हो ।

हिजोआज जनयुद्ध ‘हिंसा’ हो भन्ने शब्द चर्चामा छ । हिजो प्रचण्डलाई नेता मानेर, अझ जनयुद्ध दिवस मनाएरै एउटै पार्टीमा बनाएका योगेशहरु यस्तो बोल्दा दुनियाँ हाँस्दैन् ? योगेशका पुस्ताहरुले सिकेको राजनीति भनेकै गालीगलौज, झुट, तिकड्मकै हो । हिजोे राजालाई गाली गरियो, आज आफूलाई गाली गर्न थाले, आखिर विचार नबाड्दा हुने यही होइन् ?

आज अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा विपक्षीलाई गम्भीर आरोप कम्युनिष्ट भएकै कारण लगाउन थालिएको छ । डोनाल्ड ट्रम्पले कमला ह्यारीलाई यिनि कम्युनिष्ट हुन् भन्ने आरोप लगाए । हेर्नु त प्रहार ! आज कम्युनिष्ट भन्नेहरुलाई यो विषयले घोच्दैन् ? के कम्युनिष्ट हुनु अपराधी बन्नु हो । यही हो माक्र्सवाद ? आज हामीले नेतृत्व गरेको पार्टीको सरकारले नागरकलाई के दियो ? पुँजीवाद अटाएर समाजवाद ल्याउन के चाहीँ गर्यौँ । यो बुझ्न र बुझाउन पर्दैन् ?

आज पढ्नेहरुले जागीर पढेका छन् । हिजो इतिहास पढाइन्थ्यो । संस्कृति, सभ्यता पढाइन्थ्यो । मानिसलाई सञ्चार जगतले विचारबारे मन्थन गर्न सहयोग गथ्र्यो । आज यो छैन् । आज सबै विज्ञ छन् । आज कमाउने पढाईको कारण विचार हराउँदो छ । आज अमेरिका, जापान, दक्षिण कोरीयाको समृद्धि देखेका पुस्तालाई यहीँ पुँजीवादको गाली गरेको स्विकार गर्छन् त ?

आखिर समृद्धि, समृद्धि कसलाई भन्ने ? केही त होला उदाहरण । बोल्न त पर्ने होला नि त्यहाँको समृद्धिबारे । हामीले प्रशिक्षण त दिने होला नि ! खतरा यस्तो देखिदै छ, आफू सिद्धिएर आन्दोलन सिद्धाउने । आज बालेन र रवीहरुको आलोचना गर्नेहरु, अचानोमा नराम्रो गरी काटिने अवस्थामा छ । यो साँचो हो । तर बुझ्न चाहँदैनन् । के उनीहरु समाजवादी मोडलका हुन् ?

प्रतिक्रिया दिनुहोस्