Logo
Logo

वास्तविक सहकारी ठगलाई जोगाउने खेल


945
Shares

काठमाडौं । तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने निष्कर्ष निकालेको छ ।

प्रहरी प्रधान कार्यालयमा केही उच्च अधिकारीहरूलाई राखेर प्रहरी महानिरीक्षक वसन्त कुँवरले रविलाई पक्राउ गरेर अनुसन्धान गर्ने निष्कर्ष सुनाएका थिए । शुक्रबार दिउँसो उनले सो विषयमा परामर्श गरेपछि आइतबार लामिछानेलाई पक्राउ गर्ने तयारी थियो । तर, आइतबार जिल्ला अदालत कास्कीले पक्राउ अनुमति नदिएपछि रोकिएको थियो ।

प्रहरी प्रधान कार्यालयले चार वटा आरोपमा रविमाथि अनुसन्धान गर्न सकिने जनाएको छ । सहकारी ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सकिने जनाएको हो । त्यसका लागि सबै विवरण संकलन गर्न र संसदीय छानबिन समितिको सिफारिसलाई आधार मान्न प्रहरी प्रधान कार्यालयले कास्कीका एसपी मोहन थापालाई निर्देशन दिएको छ ।

यसका लागि प्रहरीले पहिलो चरणमा पूरक अभियोग लैजाने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण संकलन गरी पूरक अभियोजन लैजान भनेको हो ।

संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति नन्द्रकिशोर पुनका छोरा दीपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका थिए ।

सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ । प्रहरीले रवि लामिछाने गृहमन्त्री हुँदासम्म यसलाई बचाउ गर्दै आएको थियो । प्रमाण नै नभएको भन्दै राज्य व्यवस्था समितिमा आइजिपी कुँवर आफै उपस्थित भएर बचाउ गरेका थिए । त्यतिबेला आइजिपी कुँवरले शक्तिका अगाडि सत्य लुकाएका थिए ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ ।

समितिले संसदमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेकै कारण उनीमाथि अनुसन्धान सुरु भएको हो । समितिको सिफारिसअनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी)राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ ।

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका छन् । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप अनुसन्धान गर्दा रकम हिनामिनामा संलग्न देखिएकाहरूलाई पूरक अभियोग लैजान मिल्ने कानुनी व्यवस्था छ ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । सूर्यदर्शन सहकारीका संचालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै जाहेरी दिएका थिए । जीबी राई अहिले फरार छन् । सूर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामिछानेविरूद्ध २०८० माघ २२ मै कास्की प्रहरीमा परेको जाहेरीको आधारमा अभियोग लैजान सक्ने बताइएको छ ।

चौथो पटक प्रधानमन्त्री हुँदै गर्दा केपी शर्मा ओलीले आफूलाई असुरक्षित ठानेका छन् । आन्तरिक र बाह्य दुवै शक्ति ओलीविरुद्ध लागेको सूचना पाएरै उनले त्यसको प्रतिकार गर्न एमाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

ओली आफू असुरक्षित भएकै कारण कहिले काठमाडौंका मेयर बालेन शाहसँग सामाजिक सञ्जालमा लाप्पा खेल्छन् त, कहिले आफ्ना विरोधी तर्साउन साइबर अपराधमा कारबाही चलाउँछन् । दुर्गा प्रसाईँको गिरफ्तारी त्यसैको एउटा उदाहरण हो ।

दुर्गा प्रसाईं पहिला ओलीका अत्यन्त निकट व्यक्ति हुन्, ओलीले नै उनलाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका थिए । अत्यन्त उग्र स्वभावका प्रसाईँलाई तह लगाउन ओलीले जुन साइबर ग्रुमिङको सहारा लिए, त्यो ओलीका लागि प्रत्युत्पादक हुने निश्चित छ ।

त्यसैगरी, रास्वपाका सभापति रवि लामिछानेसँग ओलीको कुनै पूर्वाग्रह छैन । पहिलो पटक लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाउने पनि ओली नै हुन् । आफू प्रधानमन्त्री हुन अंक गणितका हिसाबले रविलाई ओलीले काखी च्यापेको भए पनि आरजु राणा देउवालाई जोगाउन सहकारी काण्डमा फसाउने तयारी हुँदैछ ।

आफ्नो अपराध लुकाउन अरुमाथि पूर्वाग्रह साँध्ने कामले सरकारलाई झनै कमजोर बनाएको छ । रवि लामिछाने सहकारी ठग हुन भन्ने कुरा छानबिन समितिले समेत किटान नगरेको अवस्थामा उनीमाथि सहकारी ठगीको मुद्दा चलाउनु भनेको वास्तविक सहकारी ठगहरूलाई जोगाउनु हो ।

सहकारीमा लाखौँ पीडित सर्वसाधारण जनता ठगिएका छन् । तिनीहरूको उद्धार कसरी गर्ने भन्ने सोच सरकारको देखिएन । संसदीय छानबिन समिति केबल लामिछानेलाई फसाउन मात्र बनाइएको देखियो । त्यसले सरकारप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुने देखिन्छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले बेचन झा पक्राउ गरेपछि झाले आरजु राणालाई पोल्न सक्ने देखेरै कांग्रेसले सत्ता गठबन्धन परिवर्तन गरेको हो ।

साँच्चै, प्रधानमन्त्री ओली सुशासनप्रति प्रतिबद्ध भएको भए लामिछानेले सुरु गरेको नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धानलाई निरन्तरता दिनु पर्थ्यो । तर, दुर्भाग्य आरजु राणालाई जोगाउन लामिछानेमाथि मुद्दाको तयारी गरिँदै छ ।

लामिछानेको गिरफ्तारीले सरकार थप कमजोर बन्ने देखिन्छ । कथंकदाचित सत्ता गठबन्धन तलमाथि प¥यो भने यही काण्डले ओली थप संकटमा पर्ने देखिन्छ । ओलीलाई सरकारबाट विस्थापित गर्न खोज्ने भित्र र बाहिरका शक्तिलाई लामिछाने पक्राउको घटनाले थप मलजल गर्न सक्ने तर्फ पनि सरकारको ध्यान जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्