Logo
Logo

सशस्त्रका अधिकृतहरूको व्यापक असन्तुष्टि


3k
Shares

काठमाडौं । सरकारले प्रस्ताव गरेको सशस्त्र प्रहरीको ऐनको मस्यौदाप्रति सशस्त्र प्रहरीका आठ सय अधिकृतले असन्तुष्टि प्रकट गरेका छन् । सशस्त्र प्रहरी बलले विधेयकको मस्यौदामा एसपीको पदावधि ८ वर्ष रहने र दुई वर्ष थप्न सकिने प्रावधान राखेको तर, अहिले ऐनको मस्यौदा आउदा एसपीको पदावधि हटाउदा असन्तुष्टि बढेको हो ।

‘एसपीले अनन्त समयसम्म जागिर खाने इन्स्पेक्टरलाई डिएसपीभन्दा माथि उक्लिनै नदिने अवस्था सिर्जना गरेको छ’, सशस्त्र प्रहरीका एक अधिकृतले दृष्टिसँग भने ।

यो प्राबधानले सशस्त्र प्रहरीको इन्स्पेक्टरको चौथो ब्याचदेखि माथिका अधिकृतको वृत्ति–विकासमा असर पर्ने भएकाले सच्याउनु पर्ने उनीहरूको धारणा रहेको छ । यसअघि एसएसपीको ७ वर्ष र एसपीको १० वर्ष पदावधि थियो । तर, अब एसएसपीको पदावधि एक वर्ष बढाएर ८ वर्ष बनाइएको छ । एसपीको पदावधि नै हटाइएको छ । ऐन जस्ताको तस्तै पास भएमा एसपी पदावधिका कारण अवकाश नहुने भएका छन् ।

एसपीदेखि तल्ला तहमा पदावधि रहने छैन । ‘यो प्रावधानले इन्स्पेक्टरबाट भर्ना भएका धेरै इन्स्पेक्टरबाटै अवकाशमा जाने अवस्था आउँछ । ३÷४ वटा ब्याचको भविष्य अस्तव्यस्त हुन्छ, यो प्रावधान सच्याइएन भने इन्स्पेक्टर र डिएसपी तहमा नैराश्यता आउनेछ र सशस्त्रमा भर्ना हुनेहरूको संख्यामा पनि निकै कमी आउनेछ’, सशस्त्रका एक उच्च अधिकारीले दृष्टिसँग भने ।

त्यस्तै, एआइजीको पदावधि सशस्त्र प्रहरी प्रधान कार्यालयले चार वर्ष राखेकोमा गृहले त्यसलाई घटाएर तीन वर्ष कायम गरेको छ । त्यस्तै, डिआइजीको पाँच र एसएसपीको ६ वर्ष पदावधिको प्रस्ताव भएकोमा त्यसलाई आठ बनाइएको छ ।

नयाँ विधेयकमा अधिकृत तहका कर्मचारीको अवकाशको उमेरहद ६०, राजपत्र अनंकित अधिकृतको ५५, बिल्लादार र जवानको ५१ तथा श्रेणीविहीन कर्मचारीको ५५ वर्ष कायम गरिएको छ । ३० वर्षे सेवाहद हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ भने वरिष्ठ हवल्दारसम्मलाई १६ तथा असइ, सइ र वरिष्ठ सइलाई १८ वर्षमा स्वेच्छिक अवकाशको सुविधा दिने प्रक्रिया पनि अघि बढेको छ ।

अहिलेको प्रस्तावित मस्यौदामा सशस्त्र प्रहरी प्रधान कार्यालयमा भएको छलफलबाट भने आईजीपीको तीन वर्ष, एआईजीको चार वर्ष र डीआईजीको पाँच वर्ष कार्यकाल प्रस्ताव गरिएको थियो । एसएसपीको ६ वर्ष र एसपीको ८ वर्ष पदावधि प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई हेरफेर गरेर सरकारले ऐनको मस्यौदा तयार गरेपछि सशस्त्र प्रहरीभित्र एक प्रकारको असन्तुष्टि प्रकट भएको थियो ।

सशस्त्र प्रहरीमा ल्याउन लागिएको नयाँ व्यवस्था तत्काल कार्यान्वयन भए यसको असर भने सशस्त्र प्रहरीका १२ ब्याचका अधिकारीहरूलाई पर्ने भएको छ । सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकसम्मलाई यसको असर पर्ने छ । उनीहरूले हाल कार्यरत पदमै लामो समय काम गर्नु पर्नेछ । अहिलेका इन्स्पेक्टर र डीएसपीले करिब १५ वर्षसम्म एउटै पदमा रहनुपर्ने भएकले पनि चाँडो जाम खोल्न दबाब बढिरहेका बेला प्रस्तावित ऐनले झन जाम बढाउदै जाने बताइएको छ ।

सशस्त्र प्रहरीमा एसएसपीको पद ३४ जना मात्रै छ । यस्तै १६ जना डीआईजी र तीन जना एआईजी छन् हालका एसपीहरु पदावधिका कारण अवकाश नहुने र एसएसपीमा बढुवा हुन पनि ३४ जना मात्रै दरबन्दी भएकाले तल्लो दर्जालाई बढुवा हुन समस्या पर्ने बताइएको छ । यसको समाधानका लागि सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले पहल गर्ने आश्वशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्