Logo
Logo

प्रकाशमानलाई रवीन्द्रको चुनौती- एक्लै-एक्लै फाइट गर्ने ? तेस्रोपटक नहराई त कहाँ छाडूँला र !


4.5k
Shares

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता एवम् उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई एक्लै-एक्लै निर्वाचन लड्न चुनौती दिएका छन् ।

मिश्रले निर्वाचन एक्लै-एक्लै लडेको भए प्रकाशमान सिंहलाई दुवैपटक पराजित गर्ने चेतावनी दिएका छन् । उनले सिंहलाई सबै हतकण्डा अपनाएर, अर्काको बुई चढेर निर्वाचन जितेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘एक्लै-एक्लै फाइट गर्ने? एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ । तर के गर्ने सबै हतकण्डा अपनाएर, अर्काको बुई चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरै थोरै मार्जिनले ।’

सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिना सम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेपछि मिश्रले सिंहलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्- ‘अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छाडूँला र ! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’

सिंहले चुनाव जितेर, उपप्रधानमन्त्री भएपनि सिंहको भन्दा आफ्नो नाक १०० गुणा बढी ठाडो भएको दावी गरेका छन् । उनले भनेका छन्- ‘चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ । याद गर्नुभा’छ ? चुनाव जित्दैमा, मन्त्री-प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ ।’
 

प्रतिक्रिया दिनुहोस्