Logo
Logo
समाचार टिप्पणी

कांग्रेसमा धनराजको अनेक धन्दा


प्रकाश खड्का

945
Shares

काठमाडौं । कांग्रेसमा आदर्श र नैतिकताको पाठ पठाएर नथाक्ने नेतामा पर्छन् धनराज गुरुङ । उनले आफू सधैँ सदाचार पद्धतिमा रहेको बखान गर्दै पार्टीभित्र अनुशासनको महत्वबारे सिकाउँदै हिँड्ने गर्दथे । सरकारमा छँदा पनि आफू सधैँ निष्ठा र मूल्य मान्यताको पक्षमा उभिएको दाबी गरिरहे । सुशासनका विषयमा चर्को बोल्ने उनै गुरुङ एकपछि अर्को गर्दै विवादको भुमरीमा फस्न पुगेका छन् ।

कानुन तथा न्यायमन्त्री भएकै बेला संविधान दिवसको अवसर पारेर ६७० कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरियो । त्यही मौकामा दिनदहाडै नेपालगञ्जको बिच बजारमा खुँडा हानेर हत्या गरेपछि जेलमा परेका कांग्रेस कार्यकर्ता रिगल ढकाल पनि मुक्त भए ।

ढकाल २९ वर्षे चेतन मानन्धरलाई सडक विचमै खुँडा हानेर ठाउँको ठाउँमै प्राण लिएका अपराधी हुन् । यस्ता खुँखार अपराधीको कैद मिनाहा गर्न कानुनमन्त्री भएका बेला गुरुङले नै मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

रिगल तिनै व्यक्ति थिए, जसले अपराध स्वीकार गरी आफू आत्मसमर्पण गर्न प्रहरीकहाँ गएका थिए । तीनै तहका अदालतबाट सर्वस्वसहित जन्म कैद तोकिएका उनलाई गुरुङकै पहलमा सत्ताको दुरुपयोग गर्दै माफी मिनाहा गरियो । यहीँनेर गुरुङको नैतिकता र निष्ठा स्खलित भइसकेको थियो ।

रिगल न असल चालचलनका आधारमा छुटेका थिए, न अदालतको अनुमतिले । धन्न, मुलुकमा पीडितको अन्तिम विकल्पका रुपमा सर्वोच्च अदालत थियो र रिगलको कैद मिनाहा बदर गरी पुनः जेलमा राख्न आदेश भयो ।

गुरुङ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथिको सांघातिक हमलाको मुद्दा फिर्ता प्रकरणका पनि नायक हुन् । नेविसंघका विद्यार्थीले २०७७ सालमा त्रिविका उपप्राध्यापक चलाउनेमाथि त्रिवि परिसरमै सांघातिक आक्रमण गरी मरणासन्न पारेका थिए ।

त्यो आक्रमण काण्डमा पनि गुरुङ आक्रमणकारी विद्यार्थीको बचाउमा खुलेर उत्रिएको मात्र होइन, उनी कानुनमन्त्री भएकै बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय ग¥यो । यसपल्ट पनि मुद्दा फिर्ता लिन गुरुङले नै पहलकदमी लिएका थिए । तर, अदालतबाट निर्णय उल्टिएपछि दण्डहीनता रोकियो र क्षति हुन पाएन ।

विवाद र आरोपलाई दाहिने पारेरै भए पनि पार्टीमा अग्रगामी फड्को मारेका गुरुङ अहिले फेरि सहकारी ठगी विवादमा तानिएका छन् । ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम दुरुपयोगमा उनी मुछिएका छन् ।

सहकारीका तत्कालीन अध्यक्ष कुम्भराज गुरुङले बचत हिनामिनाको विषयमा धनराजकी पत्नी ज्योति गुरुङसँग सगोलमै रहेका बखत रकम हिनामिना गरिएको भन्दै संसदीय छानबिन समितिमा पोलेपछि नयाँ रहस्य खुलेको थियो ।

उक्त सहकारीमा गुरुङकी पूर्वपत्नी ज्योति महाप्रबन्धक थिइन् । संसदीय छानबिन विशेष समितिसमक्ष मितेरी सहकारीविरुद्ध पनि उजुरी छ । रकम अपचलन प्रकरणमा छानबिनका लागि समितिले अध्यक्ष कुम्भराजलाई डाकेको थियो ।

कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नी भनिएका ज्योति चार वर्षदेखि बेखवर छिन् । यो सहकारीबाट सर्वसाधारणको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना भएको आरोप छ । कुम्भराजले सांसद गुरुङ सहकारीमा भएको बचत अपचलनबारे जानकार रहेको भन्दै बयानमा पोलेपछि घटनाले नयाँ मोड लिएको छ ।

समितिको बयानमा मात्र नभै अहिले मिडियादेखि प्रतिनिधि सभाको बैठकसम्म यो विषय छताछुल्ल भएको छ । सहकारीको बचत हिनामिना प्रकरणमा सांसद गुरुङ प्रतिनिधि सभामा सबैभन्दा ठूलो स्वरले प्रश्न उठाउने व्यक्ति हुन् ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी अपचलनमा छानबिन हुनुपर्ने भन्दै गुरुङले चर्को आवाज उठाएका थिए । लामिछाने प्रकरणमा कांग्रेसले संसद् नै अवरुद्ध गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो । कांग्रेस उपसभापति गुरुङका लागि अहिले त्यही बोली गलपासो बनेको छ ।

मितेरी सहकारीको रकम हिनामिनापछि कारबाहीबाट उन्मुक्ति पाउन गुरुङ र ज्योतिबिच सम्बन्धविच्छेदको नाटक मञ्चन भएको आशंकासमेत बढेको छ । सहकारी विवादमा फसेकै बेला सांसद गुरुङ र ज्योतिबिच २०७६ सालमा सम्बन्धविच्छेद भएको देखिन्छ ।

अदालती कागजले भने धनराज र ज्योतिबिच २०७६ फागुन १९ गते जिल्ला अदालत, ललितपुरमा सम्बन्धविच्छेद भएको देखाउँछ । तर, सांसद गुरुङले प्रेस विज्ञप्तिमार्फत सहकारीको रकम अपचलनबारे जानकारी नभएको दाबीसहित सामसुम पार्न खोजे पनि लहरो तान्दा पहरो थर्किने छाँटकाँट देखिएको छ । विरोध थामिने अवस्था देखिँदैन । संसदमा प्रतिपक्षी दलका नेतादेखि मितेरी सहकारीका पदाधिकारीसम्म गुरुङमाथि छानबिनको माग चर्काएका छन् ।

यसो त २०५७ सालमै नेपाल तरुण दलको सचिव हुँदैखेरी रातो पासपोर्ट दुरुपयोग काण्डमा उनको नाम मुछिएको थियो । कूटनीतिक राहदानी दुरुपयोग गर्दै आर्थिक लाभ लिएको आरोप लागेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव श्रीकान्त रेग्मीको नेतृत्वमा बनेको छानबिन समितिले गुरुङलाई कारबाही गर्न सिफारिस नै गरेको थियो । यद्यपि, रातो पासपोर्ट प्रकरणमा अदालतबाट गुरुङले सफाइ पाएका थिए ।

त्यस्तै, गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएको घटनामा पनि गुरुङ घैंटेको पक्षमा खरो रुपमा उभिएपछि चर्को आलोचना खेप्नुपरेको थियो । २०७९ को निर्वाचनमा धाँधली गर्दै मरेका पितृको नामबाट समेत मत हालेर सांसद बनेको आरोपसमेत गुरुङले खेप्दै आएका छन् ।

हरेक विवादका बिच शक्ति, सत्ता, भाग्य, संयोग सबै चिजको ‘केमेष्ट्री’ ले उनलाई साथ दिएको छ । तर, मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना प्रकरणको ठूलो खड्गो काट्छन् कि भेलमा पर्छन् हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्