Logo
Logo

तत्काल धान नकाट्न आग्रह गर्दै माइकिङ


441
Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेका छन् । यदि, नकाटेको भए तत्काल नकाट्न पालिकाहरुले अनुरोध गरेका छन् । मौसमविद्ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि पालिकाहरुले यस्तो आग्रह गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै किसानलाई तत्त्काल धान नकाट्न आग्रह गरेको छ । माइकिङका लागि नगर प्रहरीहरु परिचालन गरिएको छ ।

नगर प्रहरीहरुले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेको हो ।

यस्तै, दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धानबाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरुलाई अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीको जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै, महाशाखाले चार दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्