Logo
Logo

नेपालका प्रथम गभर्नर हिमालय शम्सेर जबराको सम्झना भारतीय रिजर्भ बैंकका शक्तिकान्तले के भने ?


441
Shares

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दासले विश्वको बदलिँदो परिस्थितिसँगै केन्द्रीय बैंकको भूमिकासमेत परिवर्तन हुँदै गएको बताएका छन् । नेपाल भ्रमणमा रहेका दासले मंगलबार नेपालका प्रथम गभर्नर हिमालय शम्शेर जबराको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा दासले ‘२१ औँ शताब्दीमा केन्द्रीय बैंकिङ : परिवर्तनशील प्रतिमान’ विषयमा बोलेका थिए । उनले केन्द्रीय बैंकिङसम्बन्धी स्थापित मान्यतामा विगतदेखि २१औँ शताब्दीसम्म भएका परिवर्तन, पछिल्लो पाँच वर्षयता भारतीय अर्थतन्त्रमा भएको सुधारमा रिजर्भ बैंकको भूमिकासँगै केन्द्रीय बैंकहरूले भोग्नुपरेका चुनौतीबारे धारणा राखेका थिए ।

यस शताब्दीको सुरुवाती २५ वर्षले केन्द्रीय बैंकहरूलाई महत्त्वपूर्ण शिक्षा दिएकाले त्यसका आधारमा बैंकहरूले २०औं शताब्दीको बैंकिङ अवधारणा परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सबैभन्दा पहिले मूल्य स्थिरता र वित्तीय स्थिरताबीचको अन्तरसम्बन्ध राम्रोसँग पहिचान गर्न जरुरी छ । पछिल्ला अनुभवले दिएको महत्त्वपूर्ण पक्ष मूल्य स्थिरता र वित्तीय स्थिरतालाई छुट्टाछुट्टै हेर्नुको साटो एकीकृत दृष्टिकोणबाट हेर्नुपर्छ ।’

दासले यी दुई पक्षबीचको सम्बन्धलाई दुई तरिकाले विश्लेषण गर्न सकिने बताउँदै भने, ‘पहिलो, लामो समयसम्मको स्थिर मुद्रास्फीतिले केन्द्रीय बैंकलाई नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन मद्दत पुग्ने सन् १९९० देखि २००० बीचको अनुभवहरूले देखाएका छन् भने दोस्रो, उच्च मुद्रास्फीति रहेको समयमा कसिलो मौद्रिक नीतिमार्फत उक्त समस्या समाधान गर्न सकिने देखिन्छ ।’

उनले २०औं शताब्दीमा केन्द्रीय बैंकका एकल उद्देश्य मूल्यवृद्धि स्थिरता र एकल औजार अल्पकालीन ब्याजदर रहेको बताउँदै भने, ‘अहिले केन्द्रीय बैंकको उद्देश्यको दायरा विस्तारित भएर समग्र अर्थतन्त्रको स्थायित्व बनेको छ । जसअनुसार मूल्य स्थायित्व, दिगो आर्थिक वृद्धि, वित्तीय स्थायित्वलगायत छन् ।’

एकैसाथ मूल्यवृद्धिमा स्थायित्व र वित्तीय स्थायित्वको सवालमा कहिलेकाहीं द्वन्द्व देखिएपनि यी दुवैबीचको सम्बन्ध पहिचान गरी साथै लान सके उच्च आर्थिक वृद्धिलाई योगदान दिन सकिने उनको धारणा छ ।

गभर्नर दासले पछिल्ला वर्षहरूमा केन्द्रीय बैंकहरू बलिया भएकै कारण विश्वव्यापी आर्थिक संकटहरूको प्रतिरक्षा गर्न सकेको टिप्पणी गरे । मुलुकमा बैंकिङ क्षेत्र बलियो भए ठूला वित्तीय संकटबाट पार पाउन सकिने उनको भनाइ थियो । दासले कोभिड १९ ले शिथिल बनाएको विश्व अर्थतन्त्र मात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय संकटलगायत आर्थिक संकटको सजिलै प्रतिरक्षा गर्न सफल भएको दाबी गरे ।

उनले भने, ‘मुलुकको समष्टि आर्थिक र वित्तीय स्थिरताका लागि केन्द्रीय बैंकहरू परम्परागत रूपमा संरक्षकको रूपमा काम गर्दै आएका छन् ।’ समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले केन्द्रीय बैंकहरूले त्यसतर्फ पनि काम गर्नुपर्ने गभर्नर दासको भनाइ थियो । उनले केन्द्रीय बैंकहरूले सूचना वितरणमा उदार हुनुपर्ने समय आएको पनि बताए ।

पछिल्ला वर्षहरूमा केन्द्रीय बैंकहरूले सामाजिक सञ्जालका सबै माध्यममार्फत आफ्ना गतिविधि प्रवाह गरिरहेको र त्यसबाट अपेक्षित उपलब्धिहरू प्राप्त भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्