बेइजिङ, ४ जेठ (पिटिआई) । चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोनाभाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।
कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको संक्रमण रोकिएको बताइएपनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिदै गएको छ । सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको संक्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना संक्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय संक्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।
कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।