Logo
Logo

मिटरब्याजीले बनाए पटेल परिवारलाई सुकुम्बासी


प्रेमचन्द्र झा

441
Shares

रौतहट । मिटरब्याजीका कारण बृन्दावन नगरपालिकाका पटेल परिवार सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन् । घर ब्यवहार मिलाउन लिएको तीन लाख ७० हजार रुपैयाँका कारण १३ जनाको परिवार घरबारविहीन हुने अवस्थामा पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयले २०८० असार २७ गते पाँच लाख ७० हजार तिर्नुपर्छ भनि गराएको सहमति कार्यान्वयन नहुँदा उक्त परिवार सुकुम्बासी बन्ने निश्चित भएको छ । वृन्दावन नगरपालिका–६ की निर्मला कुमारीले २०७७ सालमा दुई वर्ष आगाडिकै मितिमा गरुडा नगरपालिका– १ का साहु रामसुरेश महतोसँग एक लाख रुपैयाँ प्रति दिनको एक हजार ब्याज कपाली तमसुक बनाई लिएका थिए ।

सो रकमको व्याज जोड्दै तीन लाख ७० हजार पुगेपछि साहु महतोको जोरजबर्जस्ती बढ्दै गयो । निर्मला कुमारीको जेठो छोरा मुकेशकुमार पटेलसँग ६ लाखको कपाली तमसुक गराए । सो तमसुकको एक बर्ष नबित्दै भाई सुवोध पटेल र दाइ मुकेश पटेलसँग १०÷१० लाखको चेक काट्न लगाए ।

सो चेकका कारण दाइभाईको राम्रोसँग चलिरहेको जागिरे जीवनमा कालो बादल मडारियो । चेक अनादरको मुद्दामा परेर तलबसमेत साहुले लिन थाले । साहु महतोको अत्याचार बढ्दै गयो ।

आमाको नामको कापाली पनि बसेको बस्यै भयो । कारोना महामारीको बेला पनि घर गृहस्थी सम्हाल्दैमा आम्दानी बराबर हुने अबस्थाका थियोे । निर्मला कुमारी पटेलको दुई छोरा शिक्षक छन् । एकजना गढिमाई नगरपालिकाको संग्रामपुरको आधारभूत विद्यालयमा र कान्छो सुबोधकुमार पटेल गुजरा नगरपालिकाको दलित प्राथमिक विद्यालयमा शिक्षक छन् ।

‘साहुको ऋण तिर्नुपर्छ’ भन्ने मनसाय गर्दागर्दै पनि साहुले नियतबस सुकुम्बासी बनाएर भएपनि ब्याजको ब्याज असुल्ने गलत नियतले तिर्नुपर्ने ऋण, तिर्नु आगाडि नै साहुले आमाको नाममा २९ लाखको र दुबै छोराको नाममा १०÷१० लाखको अदालतमा मुद्वा गरेका छन् ।

दुवै भाइउपर चेक अनादरको मुद्वा दायर गरि शिक्षकको तलब आउने खाता रोक्का गराई जालझेल गरेर दुबै खाताबाट ९ लाख रुपैयाँ लिइ साहु फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले ईलाका प्रहरी कार्यालयले पटक–पटक साहु रामसुरेश महतोलाई उपस्थित गराउन पत्राचार गरेपनि उपस्थित भएका छैनन् । जसका कारण पीडित पटेल परिवार थप मारमा परेका छन् ।

निर्मला कुमारी पटेलको नाममा जग्गा जमिनको नाममा रहेको हर्षाहा गाउँको दुई कठ्ठा घडेरी पनि साहु महतोले २९ लाखको कपाली कागजमा बिगो भराई लिलाम गराउन लाग्दा निर्मला कुमारी पटेलको १३ जनाको परिबार विचल्ली बन्ने स्थितिमा पुगेका छन् ।

यसबारे साहु महतोको मोबाईल नम्बर ९८०३४११५९१ मा सम्पर्क गर्दा हुन सकेन । पीडितले न्याय पाउने आशमा दिनहुँ जिल्ला प्रशासन कार्यालय रौतहट धाइरहेका छन । पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने रौतहटको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रतिवद्वता जनाएका छन् ।

मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष शिवशंकर साहले प्रहरी मिलोमतोका कारण साहुलाई पक्रन नसकेको बताए । उनले अब साहुलाई आफँैले पक्राउ गरि सम्बन्धित निकायलाई बुझाउने चेतावनी दिएका छन् ।

(पीडित मुकेशकुमार पटेल र सुबोधकुमार पटेलसंँग कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्