Logo
Logo

प्रतिज्ञा


8.8k
Shares

मिर्मिरेले चियाउनु अगावै मेसेन्जरमा उ गुनगुनायो
सुस्केरा र आँशुसँगै भक्कानिँदै बेदना सुनायो
गरुँगोे जोश जवानीमा सुन्दर भविष्य चित्रण गर्दै
माधुर्य सुगन्धले आफ्नै देशमा मगमगाउने रहर भर्दै
फुर्रफुर्र उड्ने रंगीबिरंगी बगैंचाका पुतली जस्तै
अनुराग भर्ने मातृभूमिको प्यासी कुनै बटुवा जस्तै
समृद्ध देशको सुन्दर समाज भन्दै जुट्यौं म र उनी
नदीझैं निरन्तर जागिरह्यौं भोक निद्रा प्यासमा पनि ।

उच्च शिक्षाको मृगतृष्णा मेटाउन सहर छि¥यौँं
पढाइ सकी गाउँ फर्किंदा शुन्यतामा बाजी हार्यौं
गाउँ छाडी सहर पस्ने माहोल निक्कै छरिएछ
उर्वरा भूमि काँडाघारी खेती नयाँ गरिएछ
नयाँ युगका हस्तीहरू थात छाडी गएपछि
के खुशीले बस्नु हरे ! गाउँबस्ती खाली भएपछि
सहर फिर्यौं छातिभरि प्रगतिको खाका कोरी
चिथोरियौं सिर्फ महँगी र भ्रष्टबाट घरिघरि ।

खै कसरी व्यक्त गरौं आफ्नै देशको कथाव्यथा
उद्योगधन्दा व्यापार हेर्दा सुस्ताएको जतातता
अवसर खोज्दा पलायन शून्य सहर भेटेपछि
लावालस्कर युवा शक्ति रूँदै हिँड्या देखेपछि
छातीभरि देश दुख्यो आँखाभरि माया लुक्यो
हृदयमा चोट ठूलो लाग्यो सबै खुशी लुट्यो
पश्चतापको ज्वाला छुट्यो देशको घाउ बल्झेपछि
उफ ! परदेश जानैपर्ने बाध्यतामा अल्झेपछि

बनावटी मुस्कानमा हरे ! दुःख पीडा लुकाएर
पोेलेका नयन अश्रु वर्षा स्वभिमान झुकाएर
बिदाइको रातो अक्षता खादा माला पहिरिँदै
बा आमाले आशिष दिइ पिलाएको दही लिँदै
आँखाभरि देश बोकी हृदयमा पीडा बारी
हिँडिरहेको फराकिलो गन्तव्यलाई बिट मारी
आमा बाबा साथीसंगीको अँगालोमा बेरिएर
रून्चे हाँसो रंगिन त्यो परिवेशले घेरिएर ।

माया प्रेम स्नेहलाई आँशुभित्र लुकाएर
आफ्नै देशको परिस्थितिसँग चित्त दुखाएर
बिदाइका हात हल्लाई अमेरिका लागिन् उनी
आत्माग्लानि हुँदै लागेँ खाडी मुलुक म पनि
मिर्मिरेले चियाउँदा मलाई साँझले भेट्छ उनीलाई
भेटघाट हाम्रो टाढा भयो बाचा हार्यौं यो जुनीलाई
संयोग राम्रै जुर्यो भने मातृभूमि फर्कौंला नि
सकिएन आउन भने अर्को जुनी पर्खौंला नि ।

सशीला शर्मा

बागमति प्रदेश, भिमेश्वर नगरपालिका–४ दोलखा ।

प्रतिक्रिया दिनुहोस्