Logo
Logo

झ्याप्ले खोला पहिरो : मृत्यु हुनेको संख्या ३५ पुग्यो


315
Shares

काठमाडौं । नागढुंगा–मुग्लिन सडकअन्तर्गत धुनिबेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो ।

पहिरोमा परेकामध्ये हिजो शनिबार १४ र आज १८ गरी हालसम्म ३२ जनाको शव निकालिएको हो । जसमा १३ वटा शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालका अनुसार सनाखत हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ की सीता भट्टराई, उनका छोरा दीपेश भट्टराई र दीपिका भट्टराई छन् ।

यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन् ।

त्यसैगरी, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ । त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

सनाखत भएका शनिबारै निकालिएका थिए। आज निकालिएका शवको पहिचान हुन बाँकी छ । शनिबार बिहान करिब ४ बजेको समय जाममा रोकिएको बेला माथिबाट पहिरो खस्दा चार सवारीसाधन पुरिएका थिए । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ । मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्