Logo
Logo

बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत दिन माधव नेपालको माग


504
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अविरल वर्षाबाट प्रभावितको उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेका छन् ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर काम गर्न नेता कार्यकर्ता सबैलाई विशेष अपिल गरेका हुन् ।

बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरिक सम्पर्कविहीन भएका र घाइते भएको उल्लेख गर्दै उनले प्राकृतिक विपदबाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा पार्टीलाई मर्माहत तुल्याएको बताएका छन् ।

उनले बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घी सरकारसंग आग्रह समेत गरेका छन् । प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

बाढीपहिरो र डुबान प्रभावितका नागरिकहरूको उद्धार तथा बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था मिलाउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन, अवरुद्ध सडकको तत्काल मर्मतसम्भार गर्न नेता नेपालले सरकारसँग माग गरेका छन् । उनले विज्ञप्तिमार्फत जोखिमको सम्भावनाकालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्