Logo
Logo

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित


126
Shares

पर्सा । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।

प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह नगरपालिका–७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ । बाढीमा परेर छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए ।

‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ । एक हजार दुई सय ४५ घर डुबानमा परेका जानकारी छ’, उनले भने, ‘जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ । यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन् ।’

विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्