Logo
Logo

कम्पनी रजिष्ट्रारमा चलखेल


819
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालय जनसम्पर्क हुने र सेवाग्राहीलाई सास्ती दिएर घुस असुली गर्नेमा अग्रपंक्तिमा देखिन थालेको छ । त्यस कार्यालयमा कार्यरत कर्मचारीहरूलाई खुशी गराएपछि कानुनले गर्न नहुने र नमिल्ने काम पनि हुन्छ । घुस नदिए कानुनसम्मत काममा पनि सेवाग्राहीलाई दिनुसम्म दुःख दिने काम हुने गरेको छ । कम्पनी रजिष्ट्रारमा घुस दिएपछि यतिसम्म हुन्छ कि थोरै पैसा राखे पनि धेरै पैसाको शेयर भ्यालु देखाउन सकिन्छ ।

अर्जुन खड्का र नवीनकुमार भट्टराई

त्यसैले कम्पनी रजिष्ट्रार कार्यालयमा एकपटक गइसकेका कर्मचारीहरु सकेसम्म अर्को कार्यालयमा सरुवा हुन चाहँदैनन् । सरुवा भइहाले पनि ५÷६ महिनामै फेरि कम्पनीमा फर्कने गर्छन् । खासगरी कम्पनी रजिष्टार कार्यालयको पब्लिक शाखा कर्मचारीहरुका लागि आकर्षक मानिन्छ ।

यस शाखामा अहिले शाखा अधिकृत अर्जुन खड्का र नायब सुब्बा नवीनकुमार भट्टराईको रजगज छ । उनीहरूलाई उपसचिव टोपबहादुर विष्टले संरक्षण गरेका छन् । यी दुई दाजुभाइले कम्पनी छाड्नै चाहँदैनन । खड्कालाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो । तर उनी गृहमा जान मानेका छैनन । अटेर गरी कम्पनीमै बसिरहेका छन् ।

सुब्बा भट्टराईको कुरा झनै बेग्लै छ । उनी ४ बर्षदेखि कम्पनीमा रजगज गरिरहेका छन् । एक वर्षअघि उनको सरुवा वाणिज्य विभागमा गरिएको थियो । तर उनी विभागमा जान मानेनन् । बरु ६ महिना तलब नखाएर बसे, कम्पनीमै बसे । कम्पनी छाड्नै चाहेनन । अहिले उनी घुँडा टेकेर कम्पनीमा बसिरहेका छन् । कम्पनीमै दरबन्दी कायम गराउन उनले ट्रेड युनियनका नेतादेखि मन्त्रीका सचिवालयमा समेत आर्थिक सहयोग गरेको स्रोत बताउँछ ।

यसैगरी कम्प्युटर अप्रेटर सुनिल चौलागाईँ र नायब सुब्बा अमरराज जोशी ४ वर्षदेखि कम्पनीमा बसिरहेका छन् । बीचमा चौलागाईँको सरुवा मन्त्रालयमा गरिएको थियो । कम्पनीमा हुने मासिक रुपमा लाखौं कमाइ देखेका उनी फेरि फर्किएर कम्पनीमै जान सफल भएका छन् ।

स्रोत भन्छ–अहिले खड्का र भट्टराईको काम भनेको मझौला, ठूला, साना अन्य कम्पनीका संस्थापकहरुसँग मिलोमतो गरेर कम सेयर राखेर सेयर भ्यालु बढी देखाउनु हो । यस काम गरेबापत उनीहरुलाई कमिसन आउने गर्छ । उक्त कमिसन उपसचिव विष्टलाई पनि बुझाउने गर्छन् । स्रोतका अनुसार खड्का र भट्टराईले यतिबेला विगत लामो समयदेखि रोकिएका र कानुनले अघि बढाउन नमिल्ने फायलहरू अघि बढाउने र क्लीयर गराउने काममा लागेका छन् ।

एउटा फाइल अघि क्लिएर गरेवापत ६० लाख रुपैयाँसम्म कमिसन बुझ्ने गरेको पाइएको छ । यस कामका लागि पब्लिक शाखामा काम गर्ने कर्मचारीहरुको हात रहेको हुन्छ । त्यसैले खड्का र भट्टराईले पब्लिक शाखा छाड्न चाहँदैनन । स्रोतका अनुसार उनलाई पुनः कम्पनीमा फर्काउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयका कर्मचारीले आर्थिक सहयोग दिएको भन्दै नासु भट्टराई आफैंले निकट साथीहरुलाई भन्ने गरेका छन् ।

अधिकृत खड्का अहिले भक्तपुरको राधेराधेमा बस्न गर्छन् । कम्पनीमा काम गरेपछि उनीले यति धेरै सम्पत्ति जोडिसकेका छन् कि, पेप्सीकोलामा नयाँ घर खरिद गर्न लागेका छन् । स्रोत भन्छ–अहिले उनले नयाँ घर खोजिरहेका छन् । भट्टराईले पनि काठमाडौंमा घर जोडिसकेका छन् ।

तल्लो तहका कर्मचाारीहरु मात्र होइन, केही दिनअघि सरुवा भएका कम्पनी रजिष्ट्रार प्रदीपराज अधिकारी स्वयं पनि दोह¥याएर कम्पनीमा गएका हुन् । । कम्पनी स्रोत भन्छ– कमिसनमा लिप्त हुने कर्मचारीहरु माथिल्लो तहका कर्मचारी भन्दा तल्लो तहका कर्मचारीहरु नै बढी छन् । तल्लो तहका कर्मचारीहरुले माथिल्लो तहका कर्मचारीलाई कमिसनको प्रतिशत बुझाउने गर्दछन् । र, माथिल्ला तहकाले अधिकृत, नासुहरुले सेवाग्राहीलाई सास्ती दिएर घुस असुली गरे पनि संरक्षण गर्ने र सरुवा रोकाउने काम गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्