Logo
Logo

त्रिभुवन विमानस्थल पस्यो अख्तियार


1.3k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलको मर्मत संभार तथा लाइट जडान लगायतका कार्यमा वर्षौँदेखि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

शिवप्रसाद खेम्का र श्रवण यादव

विमानस्थलको पेरिमिटर लाइट जडानदेखि एटिसी टावर कन्ट्रोल जडानसम्म भ्रष्टाचार गरिएको आशंकामा अख्तियारले अनुसन्धान शुरु गरेको हो । एटिसी टावरमा करिब ८० करोड र पेरिमिटर लाइटमा करिब २ करोडमध्ये आधा रकममा आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान शुरु गरेको हो ।

एक महिना अघि अख्तियारको टोली पुगेर त्यहाँ लाइटको अवस्था के कस्तो र कुन गुणस्तरको सामानहरू राखिएको छ भनेर अनुसन्धान गरेको छ । विमानस्थलमा हालिएका सबैजसो लाइट कमसल गुणस्तरको भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसैगरी, एटिसी जडान पनि कमसल भएको भन्दै अख्तियारको टोलीले छानबिन अघि बढाएको छ ।

पोलसहित जडान भएको बत्ति अहिले उखालेर राखिएको छ । ‘अहिले ती पोलहरू उखालेर राखिएको छ,’ विमानस्थल प्रशासन स्रोतले भन्यो । कोटेश्वर क्षेत्रको भिओरमा पनि अर्को बत्ति जडान गर्न लागेको छ । अख्तियारले विमानस्थल प्रशासनबाट सबै कागजपत्र लगिसकेको छ ।

बत्ती जडानको काम दशौँ वर्षदेखि सेटिङमा महाबीर श्री इन्टरनेशनलले गर्दै आएको छ । सो कम्पनीका सञ्चालक शिवप्रसाद खेम्काले सेटिङ गरेर बत्ती जडान गर्ने गरेको स्रोतले जनाएको छ । खेम्काको बदमासीमा विमानस्थल कर्मचारी संघका अध्यक्ष श्रवण यादवको पनि मिलेमतो रहेको स्रोतले जनाएको छ । इन्जिनियर यादव र ठेकेदार शिवप्रसाद खेम्काको मिलेमतोमा बजेट बनाउने र स्पेक तयार गर्ने कार्य हुने भएकाले त्यहाँ काम गर्न अर्को कम्पनीलाई निषेध जस्तै गरिएको पनि स्रोतले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीदेखि हालका महाप्रबन्धक जगन्नाथ निरौलासम्मलाई मिलाउने काम उनै खेम्का र यादवले गर्ने गरेको स्रोतले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले अख्तियारले विवरण मागेको स्वीकार गरेका छन् ।

उक्त गुणस्तरहीन बत्ती जडानको बेला विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी रहेका थिए । उनकै समयमा विमानस्थल क्षेत्रमा एकजना नाङ्गो मान्छे प्रवेश गरेको भेटिएपछि असुरक्षा महशुस गरी पेरिमिटर लाइट जडान गरिएको थियो ।

जोरपाटीतिरको क्षेत्रबाट जोखिम मानिएका र आन्तरिक विमानस्थल क्षेत्रमा सो लाइट जडान गरिएको थियो । तर, केही ठाउँमा लाइट जडान गरिएको र धेरै ठाउँमा जडान नगरी विवरणमात्रै देखाएर बिल पेश गरिएको स्रोतको दाबी छ । २०औँ वर्षदेखि इन्जिनियर श्रवण यादवले खेम्कासँग मिलेर अकुत सम्पत्ति कमाएको त्यहाँका कर्मचारीले दृष्टिलाई बताए ।

सो स्रोतका अनुसार ३ वर्षअघि ३ करोडमा टेण्डर हालेर कम्पनीलाई ३ करोडमा एप्रोनलाइटको ठेक्का नदिएर इन्जिनियर यादवले खेम्कासँग ७ करोडमा खरिद गरेका थिए । त्यतिमात्र होइन, वर्षमा करोडौँ रुपैयाँ यादवले मर्मतका नाममा भ्रष्टाचार गर्दै आएका छन् । खेम्काले यादवलाई आफ्नै कर्मचारी जस्तै बनाएका छन् । खेम्काको टेण्डर डकुमेन्टसमेत यादव र इन्जिनियर संजय चौधरीले बनाइदिने गरेको कुरा कर्मचारीले बताएका छन् । यसरी कर्मचारीहरू सँगको मिलेमतोमा अर्वौँ भ्रष्टाचार भए पनि अख्तियारले अनुसन्धान थालेको यो पहिलो घटना हो ।

नेपाली सेनाले तयार पारेको प्रतिवेदनका आधारमा पेरिमिटर लाइट जडानलाई विस्तार गर्ने भनेर विमानस्थल प्रशासनले वार्षिक कार्ययोजनामै राखेको थियो । सोअनुसार विमानस्थलमा कहिले लाइट राख्ने त कहिले निकालेर राख्ने गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि)को पेरिमिटर सुरक्षामा देखिएका कमी–कमजोरी, सुधार गर्नुपर्ने पक्ष र विमानस्थल सुरक्षाका लागि आवश्यक राय सुझावसहितको अध्ययन प्रतिवेदनअनुसार तयार पारेको प्रतिवेदनअनुसार हालेको लाइटमा पनि घोटला भएको भएको छ । यतिमात्र होइन २०७७ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको एटिसी टावर कन्ट्रोल जडानका लागि गरिएको ८ करोडमा पनि अख्तियारले छानबिन गरिरहेको छ । विराटनगर, राजविराज, थामखर्क, फाप्लु, नेपालगंज, दाङ, रारा, डोटी, साँफेबगर, बलेवा, रुम्जाटार र सिमिकोट विमानस्थलमा एटिसी टावर कन्ट्रोल जडान गरिएको थियो ।

यसैगरी, प्राधिकरणले डोटी, साँफेबगर, राजविराज, रुकुम, जनकपुर, सिमरा, बलेवा, रारा, चन्द्रगढी, भरतपुर विमानस्थलमा मौसमी सूचना प्रणाली जडानमा खर्च भएको ४ करोड २६ लाखमा पनि अख्तियारले छानबिन गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि यन्त्र तथा उपकरण खरिद तथा जडानका लागि ६० करोड र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, चन्द्रगढी, जनकपुर, सिमरा, भरतपुर र धनगढी विमानस्थलमा एक्स–रे खरिद तथा जडानका लागि १४ करोडमा पनि अख्तियारले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्