बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भांसिएको छ । प्रहरीका अनुसार बर्दघाट नगरपालिका- ४ दाउन्ने जंगल स्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराका अनुसार सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि तत्काल सम्भव नभएको बोहोराले जानकारी दिए । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरणसंग समन्वय भइरहेको डीएसपी बोहराले बताए ।