Logo
Logo

जनताको विपत्तिमा दलहरूको राजनीति


189
Shares

काठमाडौं । निरन्तरको भीषण वर्षापछि शनिबार आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भयो । सयौँले ज्यान गुमाउँदा कैयौँ घाइते र बेपत्ता छन् । त्यस्तै, भौतिक क्षति पनि ठूलै मात्रामा भएको छ ।

देशमा बाढीपहिरोले वितण्डा मच्चाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिका भ्रमणमा थिए । प्रधानमन्त्री ओलीले न्यूयोर्कबाटै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई राहत र उद्धारमा जुट्न निर्देशन दिएपनि उद्धारमा सरकार चुक्यो । यसमा गृहमन्त्री रमेश लेखक बढी जिम्मेवार छन् ।

गृहमन्त्री लेखकको निकम्मापनले उद्धारको काम जुन रफ्तारमा हुनुपर्ने थियो, त्यो हुन सकेन । तर, पनि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै सर्वसाधारणले सक्दो उद्धार गरे । काठमाडौं नजिकै झ्याप्ले खोलामा तीनवटा यात्रुवाहक बस पुरिँदासमेत सरकारले पत्तो पाएन ।

अर्कोतर्फ, ललितपुरको नख्खु खोलाको बाढीले जोखिममा परेका चारजना टहराको छतमा बसेर घण्टौँसम्म गुहार मागिरहेका थिए । गृहमन्त्रीले बेलैमा उद्धारको प्रयास गरिदिएको भए चारै जना बाँच्ने थिए । तर, उद्धारमा खट्नुको साटो बचाउन सकिन भन्दै गृहमन्त्री लेखकले गौरजिम्मेवार अभिव्यक्ति दिए ।

गृहमन्त्रीले बचाउन सकिएन भनेका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना साहलाई काभ्रेका तेमालका ३३ वर्षीय चणिकलाल तामाङले भेलमा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरे । २२ वर्षीय राज साह भने आफैँ पौडिएर निस्किएको बताइएको छ । भेलमा बगेका ४ वर्षीया शेर्तु साह भने अझै बेपत्ता छन् ।

उक्त घटनापछि राजनीतिक दलले उनलाई आफ्नो पार्टीको कार्यकर्ता देख्न थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमै बोलाएर सम्मान गर्दै चणिकलाललाई कम्रेड शब्दले सम्बोधन गर्न भ्याए ।

यता, बाग्मती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता बहादुरसिंह लामाले डेढ लाख पुरस्कार दिने घोषणा गरेका छन् । त्यस्तै कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा प्रकाशमान सिंहले चणिकलाललाई हतारहतार सरकारको तर्फबाट सम्मान गर्न भ्याए । यता सत्तामा बसेर राज्य नै आफ्नो हातमा लिएको नेकपा एमालेले पनि कुलेश्वरमा एक बच्चाको उद्धार गरिएको भन्दै प्रचार गरिरहेको छ ।

बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएपछि सत्ता पक्षलाई चुनौती दिँदै माओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक पनि बोलाए । यद्यपि, पछि आफूले बोलाएको सर्वदलीय बैठक रद्द गरेर सरकारले नै आह्वान गरेको बैठकमा उपस्थित भए ।

मौसम पूर्वानुमान महाशाखाले ठूलो विपत्ति हुन सक्नेभन्दै पूर्वसूचना जारी गरिसकेको भए पनि कुनै पनि दलले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । तर, अहिले विपद्ले ठूलो क्षति गरिसकेपछि भने सबै दलहरूले उद्धार तथा राहतमा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिइरहेका छन् ।

बुधबार र बिहीबार पनि बागमती र कोशी प्रदेशमा भारी वर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिइसकेको छ । तर, यसप्रति न सरकारको ध्यान गएको छ न त राजनीतिक दलहरूले नै ख्याल गरेका छन् ।

राष्ट्रिय हितको एजेन्डा र विपद्मा सबै दल एक ठाउँमा उभिनु पर्ने भएपनि विपद्लाई नै राजनीतिकरण गर्न दलहरू उद्धत भएको देखिन्छ । दलहरू वक्तव्यबाजी र राहत घोषणा गर्दै आफू जनतामुखी देखिने होडबाजीमा छन् ।

विभिन्न विपद्का कारण जीवन गुमाएका, घाइतेहरूको शीघ्र स्वास्थ्यलालको कामना पीडित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने बाहेक राहत, व्यवस्थापन, प्रभाव न्यूनीकरणमा राजनीतिक दलको सक्रियता देखिएको छैन ।

विपत्तिबाट आमजनतालाई सुरक्षित राख्न उद्धार, राहत र पुनःस्थापनाका कार्य सरकारले मात्र गर्न सक्दैन । जसरी जोखिम मोलेर सेना, प्रहरी र सम्बद्ध निकाय उद्धार, राहत र पुनःस्थापनाका कार्यमा जुट्छ, जनताको लागि राजनीति गरेको दाबी गर्ने दलहरू पनि त्यसरी नै खटिनु पर्ने हो ।

आमजनतामा विपद्मा पर्दा उद्धार, राहत तथा पुनःस्थापना गर्नु दलहरूको दायित्व पनि हो । तर, विपत्तिमै दलहरूको राजनीति सुरु भएको छ । आमजनता कुनै न कुनै राजनीतिक दलका मतदाता अवश्य छन् । तिनै मतदाताप्रति उत्तरदायी क्रियाकलापले नै दलहरू जनतामाझ लोकप्रिय हुनेछन् ।

यो काम सरकारको मात्र हो भनी जिम्मेवारीबाट अलग रहन खोज्दा भोलि जनताबाटै अलग्गिनुपर्ने अवस्थाको बोध गर्दा राम्रो हुनेछ । हाम्रा राजनीतिक दल र नेताहरूमा धेरै कुरामा असहमति स्वाभाविक मान्न सकिन्छ तैपनि सिङ्गो देश आपत्विपत्को सङ्कटपूर्ण अवस्थामा भएको बेला एकजुट हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्