Logo
Logo

बाढी प्रभावित ८ जिल्लामा गृह मन्त्रालयले खटायो सहसचिव नेतृत्वको टोली


441
Shares

काठमाडौं । गृह मन्त्रालयले बाढी, पहिरो र डुवानका कारण बढी प्रभावित आठ जिल्लामा सहसचिव नेतृत्वमा टोली खटाएको छ ।

गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा सहसचिव नेतृत्वको टोली खटिएको छ ।

काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाल खटिएका छन् ।

कार्यदललाई बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कामबारे सुझाव दिने जिम्मेवारी तोकिएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्