Logo
Logo

उद्धारमा गृहमन्त्रीको क्षमताकै अभाव हो ?


630
Shares

काठमाडौं । पूर्वानुमान हुँदाहुँदै आवश्यक पूर्वतयारीमा राज्य चुक्दा दसैँको मुखमा बाढीपहिरोबाट जनधनको ठूलो क्षति भयो । एक साताअघि नै मौसम पूर्वानुमान महाशाखाले बाढीपहिरो आउन सक्ने भन्दै सचेत गराउँदा पनि पूर्वतयारी नगर्दा देश अस्तव्यस्त बन्यो ।

कुनै पनि विपद् बाजा बजाएर आउँदैन । तर, यसपालि पूर्वसूचना हुँदाहुँदै जनधनको ठूलो क्षति हुनुमा राज्यको कमजोरी प्रमुख कारण बनेको छ । संघीय राजधानीमै नागरिकले घण्टौँसम्म गुहार माग्दासमेत राज्यले उद्धार गर्न सकेन । 

सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुबानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राईलाई बोलाएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री लेखकमाथि प्रश्न उठाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का बेला पनि सरकारले नियमित समयमाभन्दा बढी काम नगरेको आरोप लगाए । गृहमन्त्री लेखकले भिजिबिलिटी कम भएकाले हेलिकप्टरबाट उद्धार गर्न नसकेको अभिव्यक्ति दिएको भन्दै सभापति लामिछानेले आक्रोश पोखे ।

‘गृहमन्त्रीज्यूले समाचार सुनाउनुभयो । स्रोतसाधनको अभाव हो कि भएको स्रोत साधको परिचालन गर्न सक्नुभएन ?’ उनले प्रश्न गरे, ‘काठमाडौंको भिजिबिलिटी कति छ ? तपाईंको चित्तमा लागेको हो कि तथ्यांक भन्नुभएको हो ?’ उनले अगाडि भने ‘त्यतिबेला भिजिबिलिटी ११०० थियो । चाहिने १००० हो । कहाँबाट आएको जानकारी हो यो ?’

देशभर बाढीले वितण्डा मच्चाउँदा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल प्रहरीका प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवर र विपद् व्यवस्थापनका मुख्य जिम्मेवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल देश बाहिर थिए । यसप्रति पनि सभापति लामिछानेले प्रश्न गरे । उनी, यतिमै रोकिएनन् । प्रधानमन्त्री ओली अमेरिकाबाट स्वदेश फर्कँदा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेकोबारे पनि प्रश्न गरे ।

उनले भने, ‘आकस्मिक अवस्थामा प्रहरी कहाँ हुनुहुन्छ ? विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक कहाँ हुनुहुन्छ ? कहाँ हुनुपर्ने हो अहिले दुई तिहाइको सरकार घातक छ । एउटा पार्टी प्रतिपक्षीमा हुनुपर्छ ।’

विपद्का बेला प्रधानमन्त्री ओली अमेरिका थिए । उनी भ्रमण छोट्याएर नफर्किएको भनेर पनि आलोचना भएको थियो  ।  प्रहरी महानिरीक्षक कुँवर यही असोज ७ गते ग्रीस गएका थिए । ३८औं अन्तर्राष्ट्रिय लागुऔषध कार्यान्वयन सम्मेलनमा भाग लिन ग्रीसको राजधानी एथेन्स पुगेका उनी स्वदेश फर्किएका छैनन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बाढी पहिरो आएकै दिन शनिबार बेलायत गए ।

सांसदहरूले राजधानी काठमाडौंमै पनि ४ घण्टासम्म हारगुहार गर्दा पनि सरकारले उद्धार गर्न नसकेको बताए । बैठकमा सांसद चित्रबहादुर केसीले भने, ‘काठमाडौंमा ३७ जनाको मृत्यु भयो । ४ घण्टा गुहार माग्दा पनि उद्दार हुन नसक्ने किन भयो ?’ साथै उनले विपदको समयमा हवाई भाडा उच्च पारिएको भन्दै त्यसको पनि नियमनमा सरकार निरीहर बनेको प्रश्न उठाए ।

सरकारको नेतृत्व गरेको नेकपा एमालेका सांसदहरूले पनि विपदपछिको उद्धार र राहतमा प्रश्न उठाए । एमाले सांसद रघुजी पन्तले सरकारले तयरी अवस्थामा छौँ भने पनि त्यस्तो नदेखिएको बताए । त्यस्तै सांसद राजेन्द्र पाण्डेले सरकारले रात्रिबस नचलाउन भने पनि त्यसमा कडाइ गर्न नसक्दा दुःखद घटना भएको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरे ।

सांसद सर्वेन्द्रनाथ शुक्लाले विपदबारे पूर्वजानकारी हुँदाहुँदै त्यसको व्यवस्थापनमा सरकार चुकेको टिप्पणि गरे । ‘विपद् अपर्झट आएको होइन । साइरन बजाउँदै सूचना दिएर आएको हो । सरकारी निर्देशन पालना भएको छैन,’ उनले भने, ‘तीन तहको सरकारको संयोजनको संयन्त्र बनाउन्पर्छ भनेको अहिलेसम्म भएको छैन ।’

जसपा नेपालका सांसद प्रकाश अधिकारीले काठमाडौं उपत्यकामा भिजिबिलिटी पुगेन भनेर कसैले नपत्याउने बताए । काठमाडौंकै नागरिकले ४ घण्टासम्म गुहार माग्दा पनि राज्यले बचाउन नसकेको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले भने गृहमन्त्री लेखकको बचाउ गर्दै आएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले प्रारम्भिक सुचनाको आधारमा बोलेको कुरालाई अयोग्यताको रुपमा लिन नहुने बताए ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीको बचाउमा भने ,‘गृहमन्त्रीलाई मान्छे बगेको रिपोर्ट आयो आफैं गएर हेर्नसक्ने कुरा त आएन । मान्छे बगाएर लग्यो भन्ने त्यहाँको मान्छेहरुले दिएको रिपोर्ट आएपछि गृहमन्त्रीले त्यही भाषा भन्नुभयो बचाउन सकिएन भनेर, अलि त एकजना भाइले बचाउनुभएछ । उहाँलाई धन्यवाद।’

विपद्मा वेपत्ता सरकार भन्दै चौतर्फी आलोचना भइरहँदा राज्य व्यवस्था तथा सुशासन समितिले वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरूमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारलाई निर्देशन छ  । 

यता, गृहमन्त्री लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको दाबी गरेका छन् ।

सरकार उद्धारमा चुके पनि अब राहत र पुनर्स्थापनामा सचेत बन्नुपर्छ । बाढी पहिरोबाट करिब ३५ हजार मानिसको बिचल्ली भएको छ । तिनीहरूको गाँस र बासको व्यवस्थामा राज्यले लिनुपर्छ ।

अहिले चाडपर्वको समय छ । चाडपर्व मनाउन सहरबाट गाउँ जाने अनि विदेशबाट घर आउने क्रम चलिरहेको छ । यस्तो अवस्थामा आएको बाढी, पहिरोबाट देशका प्रायः सबै राजमार्गहरू बन्द अवस्थामा छन् । ठाउँ–ठाउँमा सवारी दुर्घटना भएर कैयौँ नागरिकको मृत्यु भइरहेको छ । 

आम नागरिकको जीवनमा आइपरेको प्राकृतिक चोटमा राज्यले अभिभावक बनेर मलहम लगाउन जरुरी छ । पीडितलाई राहतका साथै पुनर्स्थापनाका लागि तत्काल व्यवस्था हुनुपर्छ । 

साथै, तत्काल अत्यावश्यक बन्दोबस्तका लागि तीनै तहका सरकार तथा जनप्रतिनिधिहरू एक भएर लाग्नुपर्छ । प्राकृतिक विपत्लाई रोक्न र छेक्न सकिन्न तर, त्यसबाट हुने क्षतिलाई भने रोक्न र बचाउन सकिन्छ भन्ने सोच राखेर काम गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्