Logo
Logo

‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश


630
Shares

काठमाडौं । अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका आशिष देउला ‘सुगर ड्याडी’सहित ४ जनालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउलासहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडाले बताए ।

परिसर काठमाडौंको टोलीले बुढानिलकण्ठ नगरपालिका–१ घर भएका ३२ वर्षीय देउलासहित उनका साथीहरु उदयपुरको त्रियुगा नगरपालिक–१२ घर भएका २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध दुई युवाले जाहेरी दिएका थिए । अर्की एक युवती पनि पीडित भएको बताए पनि उनले जाहेरी नदिएपछि दुई जना मात्रै पीडित भएको उल्लेख गर्दै मुद्दा दायर भएको थियो ।

एक युवकको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। अर्को युवकको जाहेरीमा भने चारै जना प्रतिवादी बनेका थिए । दुई फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेकाले लगाउमा राखेर यी दुबै मुद्दाको सुनुवाई भएको थियो ।

उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान मार्ने उद्योगको कसुरमा कारबाही हुने माग गरिएको थियो ।

सामाजिक सञ्जालमा सुगर ड्याडीबाट परिचति देउलाको समूहले युवा युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो । प्रहरीले देउलाको घरबाट उनले प्रयोग गर्ने नकाव, यातना दिन प्रयाग भएका आइरन लगायतका सामानहरु बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्