Logo
Logo

प्राकृतिक विपत्तिमा बेखबर सरकार


315
Shares

काठमाडौं । मध्य असोजमा आएको बाढी पहिरोमा पनि सरकार बेखबर बनेको छ । बर्सात सकिएको केही समयपछि मुलुकभर भएको भारी वर्षाका कारण एक सय २० जना बढीले ज्यान गुमाएको अवस्थामा विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको छ । सतर्कता र उद्धारको तयारी कमजोर हुँदा राज्य शक्तिको सम्पूर्ण स्रोतसाधन केन्द्रित राजधानी उपत्यकाभित्रै बाढीपहिरोबाट ४८ जनाले ज्यान गुमाएका छन् ।

देशभरमा गरी १ सय ९२ जनाको मृत्यु भएको छ ३० जना अझै बेपत्ता छन् । सार्वजनिक र व्यक्तिको सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा सरकारले समयमा आफ्नो उपस्थिति नदेखाएको भन्दै तीव्र आलोचना भएको छ ।

झ्याप्ले खोला पहिरो

धादिङ, काभ्रे, ललितपुर सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरू विपद्मा बेखबर बनेका थिए । ती मध्ये धादिङका सिडिओलाई मन्त्रालय तानिएको छ भने, काभ्रेका सिडिओ बिरामी भएकाले त्यहाँ अर्को पठाइएको छ । साथै, सिन्धुली र ललितपुरका सिडिओ पनि रेड जोनमा राखिएको छ ।

मौसम पूर्वानुमान महाशाखा र विज्ञहरूले असोज ७ गतेबाटै जोखिमको चेतावनी दिँदै आए पनि त्यसअनुसारको तयारी नभएको भन्दै सरकारको सर्वत्र आलोचना भएको छ । नागरिकस्तरबाट मात्रै नभई सत्तारूढ दलकै नेताहरूले समेत जनताको जीउधन सुरक्षामा सरकारले समयमै पर्याप्त ध्यान दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुर्दाकुर्दै शनिबार बिहान चार जना बगेका थिए । जमिनबाट सशस्त्र र नेपाल प्रहरीका उद्धार टोलीले प्रयास गरेको थियो । त्यस क्रममा जवानहरू पनि डुबे । उनीहरूलाई नै उद्धार गर्नुपर्ने स्थिति भयो । बाढीले पाँचै जनालाई बगाएकोमा दुई जनालाई चणिकलाल तामाङले उद्धार गरेका थिए भने एक जना पौडेर निस्किए, दुई जना भने अझै बेपत्ता छन् ।

विपत्तिका बेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा थिए । उनी सोमबार मात्रै स्वदेश फर्केका छन् । ओलीले शनिवार बिहान कार्यवाहक प्रधानमन्त्री प्रकामानसिंहसँग टेलिफोन संवाद गरेर बाढीपहिरोको अवस्थाबारे जानकारी लिएका थिए । संवादलगत्तै सिंहले सिंहदरबारमा विपद् व्यवस्थापनका पदाधिकारीसहित मन्त्री र सरोकारवाला मन्त्रालयका सचिवहरूको समन्वय बैठक राखेका थिए ।

त्यसअघि गृहमन्त्री लेखकले आपत्कालीन सुरक्षा बैठक डाकेका थिए । सरकारले समयमै उद्धारलाई तीव्रता नदिएको भए अझै बढी नागरिकले ज्यान गुमाउने उनको भनाइ छ । रिपोर्ट आएअनुसार विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले तयारी गरेका थिए । समयमै सरकारले उद्धार गरेकाले नै मृत्युको संख्या कम भएको गृहको दाबी थियो । तर यो दाबीलाई सर्वसाधारणले पत्याएका छैनन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा भएको समन्वयात्मक बैठकमा समेत नेपाली सेना र प्रहरीले विपद्मा परेका व्यक्तिहरूको समयमै उद्धार भएको निष्कर्ष सुनाएका थिए । बैठकमा बाढीले पु¥याएको क्षतिको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूले ‘ब्रिफिङ’ गरेका थिए । बैठकले अवरुद्ध सडक सञ्चालन र खानेपानी आपूर्तिमा तत्काल लाग्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । सोमबार विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । यी दुवै बैठकले विपत्तमा परेका नागरिकलाई तत्काल सहयोग गर्ने, राहत उद्धार र घाइतेहरू निःशुल्क उपचार गर्ने निर्णय गरेका छन् ।

बाढीपहिरोले जनजीवन अस्तव्यस्त भएको जनाउँदै सरकारले आइतबारदेखि तीन दिनसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । विद्यालय भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले पठनपाठन स्थगन गर्न आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकमा विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरिसकेको छ ।

काठमाडौंमा भारी वर्षा
काठमाडौं उपत्यकामा शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म २४ घण्टाको अवधिमा भारी धेरै वर्षा भएको थियो । यसले अहिलेसम्मको सबै रेकर्ड तोडेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उक्त २४ घण्टाको अवधिमा काठमाडौंमा २३९ दशमलव ७ मिलिमिटर वर्षा भएको थियो । उनका अनुसार एयरपोर्टमा राखिएको स्टेसनले भारी वर्षा भएको रेकर्ड देखाएको हो ।

एयरपोर्टमा शुक्रबार बिहान ८ बजेर ४५ मिनेटदेखि शनिबार बिहान ८ बजेर ४५ मिनेटसम्म लगातार भएको वर्षाले पहिलोपटक यति धेरै मापन गरिएको थियो । यसअघि काठमाडौंमा सन् २००२ जुलाई २३ मा अति धेरै वर्षा भएको थियो । त्यतिबेला २४ घण्टामा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यो रेकर्ड यसपटक तोडिएको थियो ।

काठमाडौंसहित भैरहवा, सिमरा, पोखरालगायत क्षेत्रमा शनिबार बढी वर्षा भएको मापन गरिएको छ । सामान्यतया आइतबार दिउँसोदेखि काठमाडौंलगायत देशभरि मौसम सफा हुँदै जानेछ । मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टामा बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने तथा भूक्षयको जोखिम रहेको भन्दै क्षतिबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै आगामी २४ घण्टा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

देशैभर अर्बाैँ क्षति
सडक विभागले देशभरि २३ वटा राजमार्गका ६८ ठाउँमा सडक अवरुद्ध भएको जनाएको छ । विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार देशभरका सडक अवरुद्ध हुँदा अर्बाैँको क्षति अनुमान गरेका छन् । उनका अनुसार वर्षाले तीनवटा पुल बगाएको छ । बिपी, कान्ति, अरनिको, राप्ती, मध्यपहाडी, नौबिसे–काठमाडौं, डुम्रे बेंसीसहर, त्रिभुवन राजपथलगायत राजमार्ग अवरुद्ध नै रहेको सडक विभागको भनाइ छ ।
बाढीपहिरो र डुबान÷कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन । गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन । बाढीपहिरोमा २ सय ७२ वटा पशु÷चौपाया मरेका छन । काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ । २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ । विपद्बाट भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

हाइड्रोमा साढे २ अर्ब क्षति
अविरल वर्षापछि बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल वर्षाका कारण ११ सय मेगावाट विद्युत् अवरुद्धसँगै साढे २ अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयमा अनुसार अझै यो क्षति बढ्न सक्नेछ । यस्तै सिँचाइतर्फका आयोजनामा १ अर्ब ३५ करोडको क्षति भएको छ ।

गत वर्ष अविरल वर्षाका कारण १० अर्बको क्षति भएको मन्त्रालयको भनाइ छ । ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आंकलन गरेको छ ।

राजनीतिक दलहरू विज्ञप्तिमा सीमित
अत्यधिक वर्षापछि आएको बाढी र पहिरोले देशभर ठुलो मात्रामा जनधनको क्षति भएपनि राजनीतिक दलका कार्यकर्ताहरु उद्धारमा लागेको भेटिएन । नेकपा एमाले, कांग्रेस, माओवादी विज्ञप्ति निकालेर पन्छिएका थिए ।

राजनीतिक दलहरूको भूमिकामाथि पनि आम नागरिकले प्रश्न उठाएका छन् । प्राकृतिक विपद्मा परी देश शोकमग्न हुँदा प्रधानमन्त्री अमेरिका भ्रमणमै व्यस्त रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादीसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायतले पीडित नागरिकहरूको उद्धार राहतमा सरकार गम्भीर नदेखिएको आरोप लगाएपनि उनीहरु उद्धारमा खटिएको देखिएन ।

सत्ता पक्षका नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको बचाउ गरेका छन् । एमाले र माओवादीका केही कार्यकर्ताहरु उद्धारमा खटिएको भएपनि त्यो पर्याप्त देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्